३१ जेष्ठ २०८३, आइतबार

कांग्रेस त्यागेर अबुल हुसैन एमालेमा प्रवेश, सुनसरी–४ बाट चुनाव लड्ने घोषणा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका सुनसरीका नेता अबुल हुसैन अनसारी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेसभित्रको आन्तरिक किचलो, स्वार्थ केन्द्रित राजनीति र योगदानको उचित मूल्यांकन नहुँदा आफू निराश बनेको उल्लेख गर्दै उनले कांग्रेस परित्याग गरेको जानकारी गराएका हुन् ।

सोमबार फेसबुकमा लेख्दै अनसारीले आफ्नो जीवनको ऊर्जाशील समय कांग्रेसमै खर्चिएको स्मरण गरेका छन् । राजनीतिका थुप्रै उकाली–ओराली कांग्रेसमै रहेर पार गरे पनि पछिल्लो समय पार्टी लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्तबाट टाढिँदै गएको अनुभूति आफूलाई भएको उनको भनाइ छ ।

“पछिल्लो पटक कांग्रेसभित्रको किचलो र स्वार्थ केन्द्रित राजनीतिले मलाई विछिप्त तुल्याएको छ,” अनसारीले लेखेका छन्, “हामीले सुनसरीमा सधैं आगन्तुकहरूलाई नेता मान्यौँ । पार्टीमा हाम्रो योगदानको कहिले उचित मूल्यांकन भएन । त्यो कुराले मेरो मन सधैं विझाइरहन्छ ।” यही कारणले ठूलो दुःख र भारी मनका साथ कांग्रेस त्यागेको घोषणा गर्दै उनले यसपटकको निर्वाचनमा एमालेबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

एमालेले आफूलाई सम्मानका साथ पार्टी प्रवेश गराई विश्वास गरेको भन्दै अनसारीले पार्टी र जनताको भरोसालाई कहिल्यै मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“नेकपा (एमाले)ले मलाई सम्मान गर्दै पार्टी प्रवेश गराएर विश्वासका साथ सुनसरी–४ का लागि योग्य ठानेको छ । त्यसैले म एमालेको मप्रतिको भरोसा र जनताको मप्रतिको आशा कहिले मर्न दिने छैन । सधैं एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न तल्लीन रहनेछु ।” उनले लेखेका छन् ।

उनले एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न सधैं तल्लीन रहने उल्लेख गर्दै “अन्तिम पटक जय नेपाल ! लाल सलाम !” समेत लेखेका छन् ।