दाङ । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले प्रदेशव्यापी युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय युवा परिचालन समितिको बैठकले जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा डिजिटल युवा दस्ता गठन गरी संगठित रूपमा युवा परिचालन अघि बढाउने निर्णय गरेको हो ।
बैठकले निर्वाचन लक्षित युवा परिचालन कार्यविधि पारित गर्दै भौतिक उपस्थितिसँगै डिजिटल प्लेटफर्मको अधिकतम प्रयोग गर्ने नीति लिएको छ । सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममार्फत् पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम, गलत सूचना र दुष्प्रचारलाई तथ्य, शिष्टता र राजनीतिक संस्कारका साथ चिर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्ने रणनीति तय गरिएको छ ।
केन्द्रीय समिति सदस्य विमला विकको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य लिलामणि गौतमले निर्वाचन केन्द्रित युवा परिचालनको औचित्य, आवश्यकता र सान्दर्भिकतामाथि स्पष्ट पार्दै प्रदेशस्तरीय युवा परिचालन कार्ययोजना तथा कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरू भूमेश्वर ढकाल, दधिराम न्यौपाने र शोभा ज्ञवालीको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजविक्रम श्रेष्ठ, सचिव लक्ष्मण आचार्य लगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष तथा उपाध्यक्षहरू, जनसंगठन संयन्त्र प्रमुखहरू, एघारौं राष्ट्रिय महाधिवेशनमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने युवा प्रतिनिधिहरू तथा प्रदेशस्तरीय जनसंगठनका प्रमुख र इन्चार्जहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बैठकको सञ्चालन केन्द्रीय समिति सदस्य शिवकुमारी चौधरीले गरेकी थिइन् ।









प्रतिक्रिया