जनकपुर । मधेश प्रदेशको नामकरण र राजधानी जनकपुर कायम गरिएको दिनको स्मरणमा मधेश प्रदेश सभाले आज (शनिबार) ‘प्रदेश नामाकरण र राजधानी कायम स्मरणीय पावन दिवस’ मनाएको छ ।
माघ ३ गतको दिन प्रदेश नं. २ ले मधेश प्रदेशको नाम पाएको थियो । सोही दिनलाई ऐतिहासिक दिनको संज्ञा दिँदै मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले वृक्षारोपण गरेका छन् । उनले मधेश प्रदेश सभाको परिसरमा विभिन्न बोट बिरुवा रोपेका छन् । उनले मधेश प्रदेशको नामाकरण हुनु र राजधानी जनकपुर हुनु संघीयतको प्रतीक रहेको बताए । उनले आजकै दिनले गणतन्त्र संस्थागत गरेको धारणा राखे ।
उनले यस वर्ष वृक्षारोपन कार्यक्रम मात्र गरिएको भएपनि अर्को वर्षदेखि आजको दिनमा भव्य कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
सभामुख यादवले निवर्तमान सभामुख सरोजकुमार यादवलाई गमछा ओढाएर सम्मान गरेका थिए । वृक्षारोपन कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री महेशप्रसाद यादव लगायत मधेश प्रदेशका सांसदहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया