काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् । शनिबार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए ।
उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटिरुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित भएको बैठकले ठहर गरेको छ ।’ यस्तो निर्णय दुर्भावनाबाट प्रेरित भएको र यसले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिएको बैठकको निष्कर्ष रहेको उनले बताए ।
उनका अनुसार बैठकले विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा परिवर्तन गर्ने प्रयासलाई लोकतान्त्रिक व्यवस्थामाथिको आघातका रूपमा व्याख्या गरेको छ । साथै, उक्त निर्णय मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुर्घटनातर्फ धकेल्ने षड्यन्त्रको एक अंश भएको दाबी गरिएको छ । ‘केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसका सम्बन्धमा देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिर्वतन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रष्ट देखिन्छ,’ उनले भने ।
निर्वाचन आयोगको निर्णयप्रति कडा विरोध जनाउँदै बैठकले त्यसविरुद्ध संवैधानिक तथा कानूनी उपचारका साथै राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । ‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एंव कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ,’ उनले भने । आफूहरु आइतबार सर्वोच्च अदालत जाने र सर्वोच्च अदालत नै आफूहरुको अन्तिम सुनुवाइ गर्ने भएकाले रिट पेश गर्ने पनि बताए ।















प्रतिक्रिया