–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको एघारौं संस्करण माघ १५ गतेदेखि सुरु भएर माघ २२ गते सम्पन्न हुने भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी गराएको हो । स्थानीय बसाहा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिता चौदण्डीगढी नगरपालिका–४ स्थित बसाहा बर्खेडाँडामा रहेको नारदमुनि थुलुङ रंगशालामा आयोजना हुने बसाहा क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक बसाहा क्लबसहित एलएक्स सिटी मोरङ, द यङ ब्रदर्स सुनसरी, नेपाल खेलकुद रौतहट, एपीएफ क्लब काठमाडौं, न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी तथा झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव दिपेन्द्र लामाले जानकारी दिए ।
यसैगरी, प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट गोलकिपर, उदीयमान खेलाडीसहितका विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित कप र मेडल प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।आयोजक बसाहा क्लबका अनुसार प्रतियोगिता सञ्चालन गर्न अनुमानित २४ देखि २५ लाख रुपैयाँ खर्च हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न चौदण्डीगढी नगरपालिकाबाट ९ लाख रुपैयाँ, वडा नं. ३ बाट ५० हजार, वडा नं. ४ बाट १ लाख, कटारी नगरपालिका १ लाख तथा देश विदेशमा रहेका स्थानीय एवम् स्थानीय संघसंस्था र टोलविकासको सहयोगबाट ८ लाख ८६ हजार रुपैयाँ संकलन गरिएको क्लबका कोषाध्यक्ष तेन्जु राईले जानकारी दिए ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशक अघिदेखि यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ । उदयपुरको साविक बसाहा गाविस हालको चौदण्डीगढी नगरपालिका क्षेत्रमा स्वर्गीय नारदमुनि थुलुङको योगदानको कदरस्वरूप नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय तथा नारदमुनि रंगशाला स्थापना तथा नामकरण समेत गरिएको छ ।








प्रतिक्रिया