–अन्जनी कुमार अधिकारी
उदयपुर । हरेक वर्ष माघ १ गते माघेसंक्रान्तिको अवसरमा सुरु हुने परम्परागत त्रिवेणी मेला यस वर्ष पनि उदयपुरको कटारी नगरपालिका–२ खोक्सामा सुरु भएको छ । परापूर्वकालदेखि लाग्दै आएको यो मेला ‘मैनी मेला’ नामले समेत परिचित छ ।
माओवादी द्वन्द्वको बेला मेला असुरक्षाको कारण केही वर्ष रोकिएको भए पनि मुलुकमा शान्ति प्रक्रिया सुरु भएसँगै त्रिवेणी मेला निरन्तर लाग्दै आएको छ । पहिले १५ दिनसम्म सञ्चालन हुँदै आएको मेला गत वर्षदेखि २० दिनसम्म सञ्चालन हुन थालेको कटारी नगरपालिकाले जनाएको छ । तावा, ककरु खोला र कमला नदीको संगमस्थलमा आयोजना हुने मेलामा दर्शनार्थी र आगन्तुकहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ । २० दिनको मेला अवधिभर झन्डै १० लाख श्रद्धालु र भक्तजन मेला भर्न र भाकल बुझाउन आउने अनुमान गरिएको छ ।
कटारी नगरपालिकाले ठेक्का सम्झौतामार्फत सिद्धिविनायक गिरी कन्स्ट्रक्सनलाई मेलाको व्यवस्थापनको जिम्मेवारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत राजन थापाका अनुसार करबाहेक २० लाख ५ हजार रुपैयाँमा मेलाको ठेक्का दिइएको हो । गत वर्ष १३ लाख ८१ हजार ४ सय १५ रुपैयाँमा ठेक्का लगाइएकोमा यस वर्ष ठेक्का रकम वृद्धि भएको हो । मेलामा घरेलु तथा साना उद्योग र हस्तकलाका सामग्री, स्थानीय परिकारका होटल तथा खाजा घर, लत्ताकपडा, फेन्सी सामग्री, खेलौना, खाद्य सामग्री तथा कृषि उपजको बिक्री वितरण हुनेछ । साथै, स्थानीय संस्कार र संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ । जुवा जन्य खेल, उच्छृङ्खल नृत्य तथा सामाजिक सद्भाव बिगार्ने कार्यक्रमलाई भने निषेध गरिएको छ । त्रिवेणी मेलामा कमला नदीमा मकर स्नान गर्ने, पूजा आराधना गर्ने तथा कमलेश्वर शिव महादेवको दर्शन गर्ने परम्परा रहेको छ । मनोकामना पूरा हुने र रोगव्याधि निको हुने जनविश्वासका साथ भक्तजनहरू त्रिवेणीधाममा पुग्ने गर्दछन् । मेलामा उदयपुरसहित कोशी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लाबाट साथै राजधानी काठमाडौं र भारतका बिहार, पश्चिम बङ्गाल, दार्जिलिङ, सिक्किम तथा कालिम्पोङबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया