१५ असार २०८३, सोमबार

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्य बीमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको उनले बताए । अस्पतालले स्वास्थ्य बीमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ ।

“स्वास्थ्य बीमामार्फत मासिक दुई करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भने, “बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो ।”

अस्पतालले २०७७ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बीमा वापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताए ।