–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा भारतीय सहयोगमा निर्माण गरिएको तीनतले २४ कोठे विद्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले नेपाल–भारतबीच सदियौं पुरानो मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा भौतिक पूर्वाधार क्षेत्रमा भारतीय सहयोग निरन्तर रहँदै आएको बताए ।
नगरप्रमुख बस्नेत र भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियले संयुक्त रूपमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगरप्रमुख बस्नेतले त्रियुगा नगर अस्पताल, विद्यालय भवन, खानेपानी योजना लगायतका थुप्रै विकास आयोजना भारतीय सहयोगमा सञ्चालनमा रहेको र केही आयोजना छिट्टै सम्पन्न हुने लागेको समेत बताए । कार्यक्रममा द्वितीय सचिव नौटियले नेपाल–भारतबीच सांस्कृतिक, भाषिक र सामाजिक समानता रहेको उल्लेख गर्दै कोशी प्रदेशमा ९८ तथा उदयपुरमा १२ वटा परियोजना भारतीय सहयोगमा सञ्चालनमा रहेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक जंगबहादुर खड्काका अनुसार भवन निर्माणका लागि भारतीय दूतावासबाट करिब ४ करोड ८७ लाख रुपैयाँ स्वीकृत भएको थियो । निर्माण कार्य रामेछापस्थित थापा निर्माण सेवा प्रालिले सम्पन्न गरेको हो । सम्झौता अनुसार निर्माण लागतको ८० प्रतिशत भारतीय दूतावास र २० प्रतिशत त्रियुगा नगरपालिकाको बजेटले विद्यालय भवन निर्माण सम्पन्न गरिएको हो ।









प्रतिक्रिया