काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिक साधारणसभा बुधबार कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१/८२ मा विविध चुनौतीको बावजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भूराजनैतिक कारणले बढेको विश्व मुद्रा स्थिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताइन् । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको अनुमान भएतापनि आ.व. २०८२/८३ मा बढ्दो राजनैतिक एंव सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जानसक्ने आकलन गरिएको छ ।
आ.व.२०८१/०८२ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २,२५९.३७ करोड रुपैयाँ पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा १,४९८.५९ करोड रुपैयाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई वर्षान्तमा ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, सर्मपण मूल्य, दाबी एवं अन्य दाबी भुक्तानीमा ९४८.६५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्रभित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कूल लगानी समीक्षा वर्षमा ११.०४ प्रतिशतले वृद्धि भई वर्षान्तमा ७,७९०.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।
कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंकको २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर ३,३३,०१,१९,७५२/८५ रुपैयाँमा खरिद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ । यसैगरी, कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटलले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको छ र आ.व.२०८१/०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीलाई प्रविधिमैत्री बनाउन यथा शक्य लगानी भरहेको छ । कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको बताइएको छ । कम्पनीले व्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले “प्रधानमन्त्री दैवी प्रकोप राहत कोष”मा २५ लाख रुपैयाँ र केटाकेटीको स्वास्थ्य उपचारसम्बन्धी परियोजनाको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ संस्थालाई २५ लाख रुपैयाँ समेत गरी कूल ७०,२५,५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
३८ औं वार्षिक साधारण सभाले आ.व. २०८१/०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,४७,२७,३९,७३६ रुपैयाँमा ८.५ प्रतिशतका दरले नगद लाभांश ४६,५१,८२,८७८ रुपैयाँ र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २१,८९,०९,५८९ रुपैयाँ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३,६०,०४,८६७ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अरब पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी ५,४७,२७,३९,७३६ रुपैयाँमा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५,६९,१६,४९,३२५ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सभामा अध्यक्ष सिंहले आउने दिनहरुमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।








प्रतिक्रिया