१६ असार २०८३, मंगलबार

नेपाल आइन् ’मिस ग्लोब २०२५’ की विजेता सरादत्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छिन् । आज उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन् ।

सरादत्तलाई स्वागत गर्न मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरू विमानस्थल पुगेका थिए । उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन् । मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

पहिलोपटक नेपाल आउन पाउँदा आफू निकै खुसी भएको बताउँदै सरादत्तले नेपालका हिमालप्रति विशेष आकर्षण रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘पहिलोपटक नेपाल आएकोमा निकै खुसी लाग्यो। यहाँका माउन्टेनबारे धेरै सुनेकी छु, म पहाड र हिमालतिर घुम्न चाहन्छु ।’

सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोबको फिनालेमा सरादत्तले थाइल्यान्डको प्रतिनिधित्व गर्दै ताज पहिरिएकी थिइन् । ८० भन्दा बढी देशको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट रिजु भट्टराईले प्रतिनिधित्व गरेकी थिइन् ।

डा. सन्तोष उपाध्यायका अनुसार सरादत्त र उनको टोलीको नेपाल बसाइँ पाँच दिनको हुनेछ । यस अवधिमा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्नेछन् । साथै, औपचारिक भेटघाटका कार्यक्रमसँगै विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने तालिका पनि तय गरिएको छ ।

औपचारिक भेटघाटअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा सम्भव भए प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । त्यस्तै, उनी इस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछिन् ।

गत वर्ष पनि मिस ग्लोबकी विजेता डायना मोरेनो नेपाल आएकी थिइन् । उनले मिस नेसनल नेपालको अडिसनमा निर्णायकको भूमिकासमेत निर्वाह गरेकी थिइन् । यसैबीच, मिस नेसनल नेपालको यस वर्षको आवेदन प्रक्रिया खुलिसकेको छ, जसका लागि खल्तीमार्फत आवेदन दिन सकिनेछ ।