काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला नेताहरूसँग काठमाडौँमा भएको आन्तरिक छलफलपछि उनले सो क्षेत्रबाटै चुनाव लड्ने निष्कर्ष निकालेको पार्टी स्रोतले जनाएको छ।
छलफलमा झापाको राजनीतिक अवस्था, संगठनको बल–कमजोरी, चुनावी रणनीति र विपक्षीको प्रभाव घटाउने उपायबारे केन्द्रित संवाद भएको बताइएको छ। झापा–५ हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो।
स्रोतका अनुसार बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने, माघ ६ गते झापामा र्यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। यसअघि उनी जनकपुरमा रास्वपाको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि तय भएको छ।
बालेन उम्मेदवार बन्ने निश्चित भएपछि झापा–५ मा चुनावी कार्यालय र बसोबासका लागि घर खोज्ने काम सुरु भइसकेको रास्वपाले जनाएको छ। उम्मेदवारी झापाबाट भए पनि उनको राजनीतिक अभियान कोसी प्रदेशका अन्य जिल्लासम्म विस्तार गर्ने रणनीति बनाइएको छ।









प्रतिक्रिया