काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराइलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ । उनी प्रहरी इन्पेक्टरको भूमिकामा देखिएकी छन् । ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतलाई देख्न सकिन्छ । ट्रेलरबारे निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो । एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ ।’ सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई चलचित्रको पर्दामा देखिन्छ । दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’मा सुशील श्रेष्ठ र अञ्जना बराइलीका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रको निर्देशन विजय केरुङले गरेका हुन् । दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ । यसअघि सार्वजनिक पोस्टर र टिजरका साथै ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।













प्रतिक्रिया