रौतहट । आगामी माघे संक्रान्ति (माघी) पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा भव्य ‘माघी महोत्सव २०८२’ आयोजना हुने भएको छ ।
थारु कल्याणकारी सभा लगायत विभिन्न थारु संघ–संगठनहरूको संयुक्त आयोजनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघीलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको हो ।
गुजरा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेम चौधरीका अनुसार महोत्सव आगामी माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ । थारु कल्याणकारी सभा जिल्ला कार्य समितिको दयालपुरस्थित नवनिर्मित भवनको प्राङ्गणमा कार्यक्रमको तयारी भइरहेको छ । महोत्सवमा विशेष गरी ख्यातिप्राप्त थारु कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने वडाध्यक्ष चौधरीले जानकारी दिए ।
पछिल्लो समय थारु समुदायका युवा पुस्ता आधुनिक पश्चिमा संस्कृतितर्फ आकर्षित हुँदै गएपछि आफ्नो मौलिक संस्कृति ओझेलमा पर्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्ष चौधरीले भने, ‘हाम्रा युवाहरूले आफ्नो परम्परा र संस्कृति नबिर्सुन् भन्ने मुख्य उद्देश्यका साथ यस वर्ष हामीले सांस्कृतिक कार्यक्रम र प्रदर्शनीलाई विशेष प्राथमिकता दिएका छौँ ।’
महोत्सवको मुख्य आकर्षण थारु जातिको ऐतिहासिक एवं मौलिक पहिचानको प्रदर्शनी रहनेछ । कार्यक्रममा थारु समुदायले दैनिक कार्यमा प्रयोग गर्ने परम्परागत सामग्रीहरू, प्राचीन पहिरन तथा ऐतिहासिक नाचहरूको प्रदर्शन गरिनेछ ।
यसका साथै थारु समुदायका मौलिक परिकारहरू जस्तैः घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु र भुजाको लड्डु (लाई) का स्टलहरू समेत राखिनेछन् ।
थारु समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । यस दिन ठुलो परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई आगामी वर्षको योजना बुन्ने, सगोलमा बस्ने वा छुट्टिने भन्ने जस्ता पारिवारिक निर्णयहरू लिने परम्परा रहेको छ ।
रौतहटका जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, मैरा, कटानी, चोचा, रंगपुर र राजपेडा लगायतका क्षेत्रहरू थारु बहुल्यता छ । यी क्षेत्रका स्थानीयहरू माघी महोत्सवलाई लिएर निकै उत्साहित देखिएका छन् । महोत्सवले थारु समुदायको कला, संस्कृति र खानपानको प्रवद्र्धन गर्नुका साथै जातीय एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।









प्रतिक्रिया