काठमाडौं । अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने प्रयास अब रोचक मोडमा पुगेको देखिएको छ । यो मामिलामा बेलायतको पनि प्रवेश भएको छ ।
बेलायत सरकारले आफ्ना नेटो सहयोगी राष्ट्रहरूसँग आर्कटिक महासागरको सुरक्षाबारे छलफल गरिरहेको छ । रुस र चीनले आर्कटिक क्षेत्रमा लगातार आफ्नो उपस्थिति बढाइरहेका छन् । त्यसप्रति बेलायतले गम्भीर चिन्ता व्यक्त गरेको छ । यी दुई मुलुकको सामना गर्न बेलायत नेटो देशहरूलाई एकजुट बनाउने प्रयासमा जुटेको छ ।
अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने विषयले सम्पूर्ण पश्चिमी मुलुकमा तनावको वातावरण सिर्जना गरेको छ । बेलायतले पनि त्यसलाई समर्थन गरेको देखिन्छ ।
बेलायतले आर्कटिक महासागरमा रुस र चीनको बढ्दो गठबन्धनलाई ठूलो खतरा मान्दै नेटो देशहरूसँग वार्ता सुरु गरेको छ । बेलायतका यातायातमन्त्री हैदी अलेक्जेन्डरले नेटो सहयोगीसँग आर्कटिक सागरबारे छलफल गरिरहेको बताएका छन् । अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने मनसाय व्यक्त गरेको समयमा यो छलफल भइरहेको छ । यसले नेटोका सहयोगी देशहरूमा निकै असन्तुष्टि पैदा गरेको छ । धेरैले अमेरिकाको यो कदमले नेटो गठबन्धन नै टुट्न सक्ने आशंका व्यक्त गरेका छन् । यस्तोमा बेलायतको पहललाई माहोल शान्त पार्ने प्रयासका रूपमा हेरिएको छ ।
बेलायतको नयाँ प्रस्ताव
आर्कटिक क्षेत्रमा रुस र चीनको बढ्दो सैन्य उपस्थिति र संयुक्त निगरानीले धेरै आर्कटिक राष्ट्रहरूको सुरक्षामा चुनौती थपेको छ । यही खतराका कारण ट्रम्प ग्रीनल्यान्ड कब्जा गरेर त्यहाँ मिसाइल डिफेन्स सिस्टम तैनाथ गर्न र रुस–चीनमाथि निगरानी राख्न चाहन्छन् ।
बेलायत पनि यो खतराप्रति सतर्क छ । यही कारण उसले पर्दा पछाडिबाट अमेरिकी योजनालाई समर्थन गर्न सक्छ । यद्यपि, बेलायतले हाल एउटा यस्तो प्रस्ताव अघि सारेको छ, जसमा सबै पक्ष सहमत हुन सक्छन् ।
बेलायतले ग्रीनल्यान्डमा संयुक्त सैन्य अड्डा बनाउने प्रस्ताव गरेको छ । त्यसमा डेनमार्कका साथै बेलायत र नेटो देशका सैनिकहरू रहनेछन् । त्यसमा अमेरिकालाई पनि सहभागी हुन अपिल गरिने सम्भावना छ । यदि, अमेरिका राजी भएमा ग्रीनल्यान्डका विषयमा जारी विवाद अन्त्य हुनसक्छ ।
बेलायतले अमेरिकाले ग्रीनल्यान्ड जबरजस्ती कब्जा गर्न खोजे र नेटो गठबन्धन टुटे त्यसको सिधा फाइदा रुस र चीनलाई हुने चेतावनी दिएको छ ।








प्रतिक्रिया