२९ आश्विन २०८३, बिहिबार

कास्की आइडलको उपाधि रोजिता र शिखालाई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् ।

रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे ।

यस्तै, नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए । दुवै विधामा उपाधि विजेताले जनही ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, फस्ट रनरअपले ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । विगत डेढ महिनादेखि सञ्चालित आइडलका विभिन्न चरण पार गरेर दुवै विधामा ५/५ जना फाइनलमा प्रवेश गरेका थिए ।

रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्तो कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँदै राष्ट्रियस्तरका कलाकार जन्माउने आधार निर्माण गरेको बताए ।

कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै प्रतिष्ठानहरूको उद्देश्य भएको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने धारणा राखिन् ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिकरसांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील संस्था भएको बताए । उनले आगामी दिनमा पनि नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाए ।

गायक रामभक्त जोजिजू तथा गायिका ईतु जोजिजूको समेत प्रस्तुति रहेको कार्यक्रममा अनिल ढुङ्गाना र सनम गुरुङ लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गरेका थिए ।

कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा. ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा. निराजन कोइराला, मदन घिमिरे लगायतले शुभकामना दिएका थिए ।