काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले युनियन–पे कार्ड सेवा सुरु गरेको छ। डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यसहित बैंकले एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो।
युनियन–पे कार्ड सेवाको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त कार्ड सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आधुनिक प्रविधिमा आधारित यस कार्डमार्फत ग्राहकहरूले स्वदेश तथा विदेशमा सहज रूपमा भुक्तानी, नगद झिक्ने तथा अनलाइन कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारी प्रतिष्ठान र एटीएममा स्वीकार्य यो कार्डले अन्तर्राष्ट्रिय यात्रा तथा डिजिटल कारोबारलाई अझ सरल र सुरक्षित बनाउने बैंकको विश्वास छ।
कार्ड शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अफर पनि सार्वजनिक गरेको छ। यस अन्तर्गत सीमित अवधिका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गरिनेछ। उक्त अफरमार्फत ग्राहकहरूले कुनै अतिरिक्त शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधा उपयोग गर्न सक्नेछन्। इच्छुक ग्राहकहरूलाई समयमै आवेदन दिन बैंकले आग्रह गरेको हो।
युनियन–पे कार्ड सेवाको सुरुवातसँगै एनआईएमबीले डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा थप विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। भविष्यमा पनि नवीन, सुरक्षित तथा ग्राहक–मैत्री वित्तीय सेवा विस्तार गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।








प्रतिक्रिया