२२ असार २०८३, सोमबार

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जनाले जिते स्वर्ण पदक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् । सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराएकी हुन् ।

थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जितेका हुन् ।

फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा तथा सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई पाखा लगाए ।

जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छाउँदै पहिलो भए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २ सय २७ खेलाडी सहभागी छन् । सिनियर/जुनियर पुरुषमा समान ५–५ तथा सिनियर/जुनियर महिलामा समान ५–५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

लिगको यो दोस्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोस्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।

लिगमा हरेक तौल समूहमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७ र तेस्रोलाई ३ अंक प्रदान गरिनेछ । चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष/महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइनेछ ।

मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्नेछ । प्रदर्शनलाई नै मध्यनजर गरी दोस्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौल समूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।