हेटौंडा । गायक जनक लामा र जितु लोप्चनको स्वर रहेको गीत ‘माछी खोलिमा–२’ आज शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ । गीत लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतका शब्द प्रज्वल दोङले लेखेका हुन् भने संगीत चेतन लामाले दिएका छन् ।
गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् । मौलिकता र आधुनिक सङ्गीत संयोजनले गीतलाई प्रभावशाली बनाएको छ । यसअघि सार्वजनिक गरिएको ‘माछी खोलिमा–१’ लाई श्रोता दर्शकबाट अत्यधिक माया तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि त्यसैको निरन्तरताका रूपमा ‘माछी खोलिमा–२’ सार्वजनिक गरिएको गायक लामाले बताए । पहिलो गीतले पाएको लोकप्रियताले दोस्रो भाग ल्याउन आफूलाई प्रेरणा मिलेको उनको भनाइ छ ।
गीतमा माया प्रेमका भावनालाई सरल र प्रेमिल ढङ्गले प्रस्तुत गरिएको छ । गीतको निर्माणमा निर्मल धमला, आशिष वाइबा र चन्द्र लामा प्रायोजकका रूपमा रहेका छन् भने लिजा–ए स्टुडियोले प्राविधिक सहयोग प्रदान गरेको छ ।
गायक लामा मकवानपुरको बकैया गाउँपालिका–७, मामदमार निवासी हुन् । उनले यसअघि पनि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएको गीतले दर्शक तथा श्रोताको उल्लेख्य ध्यान तान्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया