काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् ।
अन्तर्राष्ट्रिय कानुनलाई खारेज गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पक्राउपछि आफूले अपनाइरहेको आक्रामक नीतिलाई ‘व्यक्तिगत नैतिकता’ले मात्र नियन्त्रण गर्नसक्ने बताएका छन् ।
बिहीबार ‘द न्युयोर्क टाइम्स’सँग ट्रम्पले भने, “मलाई अन्तर्राष्ट्रिय कानुनको आवश्यकता छैन । म मानिसलाई चोट पु¥याउन चाहन्न ।”
अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नमा उनले भने, “पर्छ, तर यो ‘अन्तर्राष्ट्रिय कानुन’को परिभाषा के हो भन्ने कुरामा भर पर्छ ।”
ट्रम्पले आफ्ना परराष्ट्र नीतिहरूको लक्ष्य हासिल गर्न अमेरिकी सेनाको ‘पासविक शक्ति’ प्रयोग गर्ने इच्छा देखाएका छन् । गत शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको थियो, जहाँ राजधानी काराकस र सैन्य आधार शिविरहरूमा ठूला विस्फोटहरू भएका थिए ।
अमेरिकी सेनाले काराकसबाट राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको थियो । आलोचकहरूका अनुसार यो संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन हो, जसले कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बल प्रयोग गर्न निषेध गर्छ ।
गत महिना मात्र पहिलो ‘फिफा शान्ति पुरस्कार’ प्राप्त गरेका ट्रम्पले भेनेजुएला आक्रमणपछि झनै आक्रामकता देखिएका छन् । आक्रमणलगत्तै उनले अमेरिकाले भेनेजुएला चलाउने र त्यहाँको विशाल तेल भण्डारको दोहन गर्ने बताएका थिए । यद्यपि, उनको प्रशासनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग सहकार्य गर्ने बताएको छ ।
तर, ट्रम्प प्रशासनले अन्तरिम सरकारलाई नीतिहरू निर्देशन दिने र अमेरिकी मागहरू नमानेमा सैन्य कारबाहीको दोस्रो लहर सुरु गर्ने धम्की बारम्बार दिइरहेको छ ।
आइतबार ‘द एटलान्टिक’सँगको अन्तर्वार्तामा रोड्रिगेजका बारेमा ट्रम्पले भने, “यदि, उनले सही काम गरिनन् भने उनले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ, सायद मादुरोलेभन्दा पनि ठूलो ।”
यसै हप्ता ट्रम्पले कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोविरुद्ध पनि आक्रमण गर्नसक्ने संकेत दिएका छन् । डेनमार्कको क्षेत्र ग्रीनल्यान्ड प्राप्त गर्ने आफ्नो सैन्य अभियानलाई पनि उनले तीव्र बनाएका छन् ।
यसअघि, जुन महिनामा ट्रम्पले इरानविरुद्ध इजरायलको युद्धमा सहभागी हुँदै इरानका तीन मुख्य आणविक स्थलहरूमा बमबारी गर्ने आदेश दिएका थिए ।
ट्रम्पका सल्लाहकार स्टिफन मिलरले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको आलोचना गर्दै अबदेखि अमेरिकाले पश्चिमी गोलार्धमा आफ्नो हित सुरक्षित गर्न बिना कुनै क्षमायाचना सैन्य बल प्रयोग गर्ने बताएका छन् । सोमबार सीएनएनसँग मिलरले भने, “हामी महाशक्ति हौँ, र राष्ट्रपति ट्रम्पको नेतृत्वमा हामी महाशक्तिको रूपमै व्यवहार गर्नेछौँ ।”
विज्ञहरूले अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गर्दा अमेरिकासहित सम्पूर्ण विश्व समुदायका लागि विनाशकारी परिणाम हुनसक्ने चेतावनी दिएका छन् । न्यायाधीश र वकिलहरूको स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक मार्गरेट साटरथ्वाइटले ‘अल जजिरा’सँग अन्तर्राष्ट्रिय कानुनलाई खारेज गर्ने अमेरिकी भनाइहरू अत्यन्तै खतरनाक भएको बताइन् ।
साटरथ्वाइटले विश्व पुनः साम्राज्यवादको युगतर्फ फर्किन लागेकोमा चिन्ता व्यक्त गरिन् । उनका अनुसार अन्तर्राष्ट्रिय कानुनको अवमूल्यनले वासिङ्टनका विरोधीहरूलाई पनि आफ्नै किसिमका आक्रामक कार्यहरू गर्न प्रोत्साहन मिल्नेछ ।
उनले भनिन्, “यदि, राज्यहरू भयानक काम गर्नै चाहन्छन् भने अन्तर्राष्ट्रिय कानुनले मात्र उनीहरूलाई रोक्न सक्दैन ।”















प्रतिक्रिया