काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले माईकार्ड नाममा व्यक्तीकृत कार्ड सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ । यस सेवाअन्तर्गत एससीटी नेटवर्कअन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी–युनियनपे डेबिट कार्ड लिन सक्नेछन् ।
हाल एससीटी–युनियनपे स्किमअन्तर्गत आईसीएफसी फाइनान्स लिमिटेडबाट सुरु गरिएको यो सेवा बैंक तथा वित्तीय संस्थाको रुची अनुसार भविष्यमा भिसा तथा नेपालपे स्किममा समेत सुरु गर्न सकिने गरी विकास गरिएको छ भने एससीटी नेटवर्क बाहेकका बैंक तथा वित्तीय संस्थाले समेत माईकार्डको यो प्लेट्फर्म प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससीटी–युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी अन्तर बैंक भुक्तानी सेवा, स्मार्ट बैंकिङ मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया