काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा जारी २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोले जितेकी छिन् ।
नेपाल महिला यू–१९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पु¥याउँदा नेपालको नेतृत्व पूजाले गरेकी थिइन् । छनोट र एसिया कपमा उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।
यो विधामा एथलेटिक्स अजय बीके, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङ मनोनयनमा रहेका थिए ।
एथलेट अजय बीकेले चौथो दक्षिण एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा कास्य तथा पाकिस्तानमा सम्पन्न साफ क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाल टोलीका तर्फबाट पनि कास्य पदक जितेका थिए ।
करातेकी अञ्जली महर्जनले भुटानमा सम्पन्न दक्षिण एसिया यू–२१ कराते च्याम्पियनसिपमा स्वर्ण, सिंगापुरको एसिया प्यासिफिक च्याम्पियनसिपमा ५० केजी तौल समूहमा स्वर्ण र ५६औं यू–१८ राष्ट्रिय कराते च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।
बक्सर स्वस्तिका तिरुवाले बहराइनमा सम्पन्न आईएसएफ जिम्नासियाडमा स्वर्ण जित्दै दोस्रो अन्तर्राष्ट्रिय सहभागितामै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हात पारेकी थिइन् ।
फुटबलर समिर तामाङले एएफसी यू–२० छनोटमा चाइनिज ताइपेइविरुद्ध ह्याट्रिक गर्दै चर्चा कमाए। उक्त प्रतियोगितामा नेपालका चारै गोल उनैले गरे । साफ यू–२० च्याम्पियनसिपमा नेपाल फाइनल पुग्दा उनले दुई गोल गरे र फाइनलमा हार बेहोरे पनि पुनः गोल गरेका थिए ।
अवार्ड पोखरामा जारी छ। यो पटक पनि विभिन्न दश विधामा खेलाडी तथा खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ ।








प्रतिक्रिया