काठमाडौं । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सचिवालयको १० औँ बैठक तौलिहवामा विभिन्न महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ ।
बैठकले पार्टी केन्द्रीय सचिवालयको यही पुस १३ गते बसेको बैठकबाट जारी विशेष परिपत्रको अध्ययन गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको जिल्ला कमिटीका सचिव चन्द्रबहादुर गहतरोज जानकारी दिए ।
पार्टी निर्देशन अनुसार जिल्लाका तीनै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय कमिटीहरूबाट कम्तीमा एक महिला सहित तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भनिएको थियोे । सोही बमोजिम तीनै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारका नाम प्राप्त भएको बैठकले जनाएको छ ।
बैठकले एकल नाम सिफारिस भएको हकमा सर्वसम्मत रूपमा र एक भन्दा बढी नाम सिफारिस भएको अवस्थामा जिल्लाको लिखित रायसहित उम्मेदवारहरूको सूची प्रदेश कमिटीमा पठाउने निर्णय सर्वसम्मत रूपमा गरेको छ ।
प्रदेश कमिटीमा सिफारिस गरिएका उम्मेदवारहरूमा निर्वाचन क्षेत्र नं. १ बाट विश्रामप्रसाद चौधरी, क्षेत्र नं. २ बाट दीर्घनारायण पाण्डे र क्षेत्र नं. ३ बाट नेत्रराज अधिकारी, सराज अहमद फारुकी, अकबाल अहमद शाह तथा मिना परियार रहेका छन् ।
त्यसैगरी, बैठकले पार्टी जिल्ला कमिटीको आवश्यकता अनुसार कमिटी संख्या विस्तार गर्ने निर्णय गर्दै हालसम्म कमिटीविहीन रहेका सदस्यहरूलाई जिल्ला कमिटीमा मनोनयन गरेको छ । साथै जिल्ला सल्लाहकार प्रतिनिधि परिषद् तथा विभिन्न विभागहरूमा समेत जिम्मेवारी बाँडफाँट गरिएको पार्टीले जनाएको छ ।
बैठकले संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई केन्द्रमा राखेर पार्टी गतिविधि थप सक्रिय बनाउने निष्कर्ष निकालेको छ ।









प्रतिक्रिया