काठमाडौं । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबबीच शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पुस २३ देखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि आज खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र आर्मी गरि ४ टोलीको सहभागिता रहने छ । पहिलो दिन पुलिस र एपिएफबीच दोस्रो खेल हुनेछन् ।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारमा दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
यसअघि जस्तै कन्साइन निरोलेक पेन्ट (केएनपी) ले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ , दोस्रोले २ लाख ५० हजार , तेस्रो टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ सँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै नवौ संस्करणको उद्घाटन समारोहका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, मार्वल टेक्नोप्लास्टलगायत विभिन्न कर्पोरेट हाउस र नगरपालिकाले सहयोग गरेका छन् । प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।








प्रतिक्रिया