बुटवल । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद बासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा फिर्ता लिँदै पुनः एमालेमै सक्रिय राजनीति गर्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिमिरेले पछिल्लो निर्णय भावनात्मक अवस्थामा गरिएको स्वीकार गरेका छन्। कार्यकर्ता, शुभेच्छुक र नेताहरूको प्रतिक्रिया तथा सुझावले आत्मसमीक्षा गर्न प्रेरित गरेको उल्लेख गर्दै उनले पार्टीभित्रै बसेर सुधार र रूपान्तरणका लागि संघर्ष गर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।
चार दशकभन्दा बढी एमाले राजनीतिमा सक्रिय रहँदै युवा संघ, तिलोत्तमा नगर प्रमुख र रुपन्देही–५ का सांसदको जिम्मेवारी सम्हालेको स्मरण गर्दै उनले राजनीति पद वा सौदाबाजीका लागि नभई विचार र जनभावनाको प्रतिनिधित्वका लागि भएको उल्लेख गरेका छन् । पार्टी समयअनुसार बदलिन नसक्नु, नयाँ पुस्ता र ‘जेन–जी’ को सोच समेट्न कमजोरी देखिनु नै असन्तुष्टिको कारण बनेको उनले बताएका छन्। तर, त्यसका लागि पार्टी छोड्नु समाधान नभएको निष्कर्षमा आफू पुगेको उनको भनाइ छ।
घिमिरेले आफू अवसरवादी नभएको दाबी गर्दै अब पार्टीभित्रै बसेर युवा नेतृत्व हस्तान्तरण, संगठनको आधुनिकीकरण र प्रविधिमैत्री अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
“म एमालेमै रहनेछु—मन, वचन र कर्मले,” भन्दै उनले पार्टीले सुम्पिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने बताएका छन्।








प्रतिक्रिया