कराकास । अमेरिकी आक्रमणपछि पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको न्यूयोर्कस्थित हिरासतमा पुर्याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि सैन्य कारबाही गरी मदुरोलाई पक्राउ गरेको बताए । ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमार्फत मदुरो दम्पतीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्वीर सार्वजनिक गरेका थिए । तस्वीरमा अमेरिकी युद्धपोत यूएसएस इवो जिमाभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरो देखिएका थिए ।

न्यूयोर्क राज्यको स्टुवर्ट एअर नेशनल गार्ड बेसमा अवतरणपछि मदुरोलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्याइएको र त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको बताइएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन् ।
राष्ट्रपति ट्रम्पले “सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म भेनेजुएलाको शासन व्यवस्था अमेरिकाले सञ्चालन गर्ने” बताएका छन् ।
भेनेजुएलाबाट कसरी पुर्याइयो न्यूयोर्क ?
बीबीसीका अनुसार पक्राउ परेका मदुरो दम्पतीलाई सबैभन्दा पहिले न्यूयोर्कको म्यानहटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालय पुर्याइएको थियो ।

शनिबार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो । त्यसपछि उनलाई क्यारिबियन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत यूएसएस इवो जिमामा पुर्याइयो ।त्यसपछि मदुरोलाई क्युबास्थित ग्वान्टानामो बेको अमेरिकी नौसैनिक अड्डामा लगिएको र त्यहाँबाट अर्को विमानमार्फत न्यूयोर्क राज्यको ओरिन्ज काउन्टीस्थित स्टुवर्ट एअर फोर्स बेस पुर्याइएको बताइएको छ । सो बेसबाट हेलिकप्टरमार्फत उनलाई न्यूयोर्क सहर पुर्याइएको थियो ।
मदुरोमाथि के–के मुद्दा लाग्न सक्छ ?
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दर्ता गरिएको छ । मदुरो दम्पतीमाथि लागुऔषध–आतङ्कवादको षड्यन्त्र, कोकिन आयात, मेशिनगन तथा विनाशकारी हतियार राखेको र अमेरिकाविरुद्ध हतियार प्रयोग गर्न षड्यन्त्र गरेकोजस्ता गम्भीर आरोप लगाइएको छ ।

मदुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग दायर भए पनि उनले लागुऔषध कार्टेलको नेता भएको अमेरिकी आरोप अस्वीकार गर्दै आएका छन् ।
मदुरोलाई सोमबार न्यूयोर्क अदालतमा उपस्थित गराइने बताइएको छ ।









प्रतिक्रिया