१५ असार २०८३, सोमबार

राष्ट्रपति र उनकी श्रीमतीलाई बेडरूमबाटै घिसार्दै निकालिएको थियो बाहिर

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति मादुरोसहित उनकी श्रीमती अहिले अमेरिकी सेनाको हिरासतमा रहेको र भेनेजुएलाबाट बाहिर लगिएको उल्लेख गरे ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा भएको आक्रमणको क्रममा केही मानिसहरू घाइते भएका तर कसैको मृत्यु नभएको पनि बताए ।

ट्रम्पले फक्स न्यूजलाई भने अनुसार मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क लगिएको छ । जहाँ उनीहरूले मुद्दाको सामना गर्नेछन् । उनीहरूलाई विमानबाट लगिएको थियो ।

ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई पक्राउ गर्ने अभियानलाई आफूले ‘टिभी कार्यक्रम’जस्तै हेरेको पनि बताए ।

यसैबीच, भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमती सिलियालाई अमेरिकी सेनाले उनीहरू मध्यरातमा सुतिरहेको बेला बेडरूमबाटै घिसार्दै बाहिर निकालेर हिरासतमा लिएको सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

यो कार्य अमेरिकी सेनाको विशेष डेल्टा फोर्सले गरेको थियो । यसक्रममा कुनै पनि अमेरिकी सेना घाइते नभएको पनि समाचारमा उल्लेख छ ।

भेनेजुएला किन अमेरिकाको निशानामा ?

अमेरिका र भेनेजुएलाबीच लामो समयदेखि तनाव छ । यो तनावको पछाडि भूराजनीतिक प्रभुत्व, प्राकृतिक स्रोतसाधनमाथिको कब्जा र बदलिँदो भूराजनीति लगायतका विषयहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले निकोलस मादुरोको सरकार विरुद्ध नार्को आतंकवादको गम्भीर आरोप लगाएको छ । अमेरिकाले मादुरो सरकारको नीतिका कारण यहाँ लागूपदार्थको तस्करी बढेको पनि बताउँदै आएको छ ।