२१ असार २०८३, आइतबार

उद्यमी चन्द्र ढकालका छोरा सचिनले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै ढकालले विदेशमा अध्ययनपछि उतै प्रशस्त अवसर भए पनि स्वदेशमै उद्यम गरेर देशको समृद्धिमा योगदान दिने अठोटका साथ नेपाल फर्किएको उल्लेख गरेका छन्। स्वदेशमै रोजगारी सिर्जना गर्ने र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा इमान्दार प्रयास गर्नुपर्छ भन्ने प्रेरणा आफ्ना पिता, चर्चित उद्योगपति चन्द्रप्रसाद ढकालबाट पाएको उनको भनाइ छ।

ढकालले हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा आफू सक्रिय रहेको उल्लेख गर्दै वार्षिक पाँच लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिनु मुलुकका लागि चिन्ताजनक तथ्य भएको बताएका छन्। विदेशमा आकर्षक अवसर त्यागेर स्वदेश फर्किने युवाहरूको प्रयासमा साथ र सहयोग गर्ने आफ्नो प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन्।

युवाको सामूहिक नेतृत्व, नवीन सोच र ऊर्जाबाट सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण आवश्यक रहेको बताएका छन्। यही परिवेशमा आफूलाई समानुपातिक सूचीमा समावेश गरिएकोप्रति पार्टी नेतृत्वप्रति आभार प्रकट गरे पनि संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश नाम फिर्ता लिने निर्णय गरेको स्पष्ट पारेका छन्।

उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी आवश्यक परेमा सधैँ तत्पर रहने प्रतिबद्धता पनि जनाएका छन्। साथै, आफू कुनै व्यावसायिक घरानाको सन्तान भएकै कारण होइन, आफ्नै शिक्षा, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्दै नवउद्यम र नवीन सोचमार्फत योगदान गर्न चाहेको स्पष्ट पारेका छन्।

परम्परागत व्यवसायको निरन्तरताभन्दा पनि नविनता, चुनौती र नयाँ सम्भावनाका क्षेत्रमा आफूलाई खार्ने प्रयास गरिरहेको उल्लेख गर्दै ढकालले त्यो प्रयास नेपाली युवाका लागि उदाहरणीय बन्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।