२४ जेष्ठ २०८३, आइतबार

झापा विमान दुर्घटनापछि यात्रुका कहालीलाग्दा अनुभव, के भन्छन् ?

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएर दुर्घटनामा परेपछि यात्रुहरूले मृत्युलाई नजिकबाट देखेको अनुभव सुनाएका छन् ।

जहाजभित्र केही क्षणको अफरातफरी, त्रास र चिच्याहटबीच यात्रुहरूले साहस जुटाउँदै ज्यान जोगाएको बताएका छन् । जहाजमा सवार झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले ढोका वा झ्याल नफुटाएको भए ठूलो मानवीय क्षति हुन सक्ने बताए ।

‘यदि दैलो (झ्याल) नफुटाइएको भए हामी भित्रै चेप्टिएर मर्ने थियौँ,’ गोम्देनले भने, ‘हामी सबै हाम फालेर बाहिर निस्कियौँ, ज्यान बचायौँ ।’

दुर्घटनापछि जहाज रोकिएलगत्तै केही यात्रुले झ्याल फुटाएर बाहिर निस्किएको उनले बताए । धावनमार्गबाट चिप्लिएर जहाज घाँस र घारीतर्फ जोतिएपछि भित्र बस्न असम्भव अवस्था बनेको यात्रुको भनाइ छ ।

‘लात्तीले ढोका खोलेँ’
पाँचथरका उमेश मोक्तानले जहाजभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको बताए । ‘एयर होस्टेसहरूले नखोल्न भन्दै थिए,’ उनले भने, ‘तर मैले लात्ती प्रयोग गरेर ढोका खोलेँ । त्यसपछि सबै यात्रु डरले बाहिर निस्किए ।’

ढोका नखुलेको भए धेरै यात्रु किचिएर मर्ने वा गम्भीर घाइते हुने अवस्था रहेको मोक्तानको भनाइ छ ।

‘मुटुले झन्डै ठाउँ छाड्यो’
कतारबाट घर फर्किएकी झापाकी कमला दर्जी दुर्घटनाको क्षण सम्झिँदै भावुक भइन् ।

‘मन त खुसीले भरिएको थियो, तर केही क्षण मुटुले झन्डै ठाउँ छाड्यो,’ उनले भनिन्, ‘अझै पनि मुटुको गति तीव्र छ ।’

उनका अनुसार केही यात्रु झ्याल फुटाएर बाहिर निस्किए भने केहीले इमरजेन्सी ढोका खोले । ‘हामी त घारीमा जहाज जोतिएपछि बल्ल निस्कियौँ,’ कमलाले भनिन् ।

‘ठूलो क्षति टर्‍यो’
दुर्घटनामा जहाजमा क्षति पुगे पनि सबै यात्रु सकुशल बाहिर निस्कन सफल भएका छन् । यात्रुहरूका अनुसार केही सेकेन्ड ढिला भएको भए अवस्था भयावह हुन सक्थ्यो । प्रहरी र विमानस्थल प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।