१४ असार २०८३, आइतबार

अपडेट : भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, यस्ता छन मुख्य विवरणहरू

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर । झापास्थित भद्रपुर विमानस्थलमा शुक्रबार बुद्ध एयरको एटीआर जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको छ । काठमाडौं–भद्रपुर उडान नम्बर ९०१ ओभर रन भई रन–वे छेउको घाँसे क्षेत्रमा पुगेको हो ।

घटनामा जहाजमा क्षति पुगेको भए पनि यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको पुष्टि भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मानवीय क्षति नभएको जानकारी दिएका छन् ।

भद्रपुर विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज धावनमार्गको अन्तिम विन्दु पार गरी करिब १५० मिटर अगाडि पुगेको थियो र पानी बग्ने कुलेसोमा पुगेर रोकिएको उनको भनाइ छ ।

मुख्य विवरणहरू :
उडान : काठमाडौं–भद्रपुर (उडान नं. ९०१)
यात्रु : ५१ जना (सबै सकुशल)
घटना समय : राति ९:१० बजे
स्थान : भद्रपुर विमानस्थल, झापा
अवस्था : जहाज रन–वेबाट बाहिर घाँसे क्षेत्रमा पुग्यो

नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक रूपमा मौसमका कारण जहाज चिप्लिएको हुन सक्ने जनाएको छ । बुद्ध एयरका निर्देशक रुपेश जोशीले पनि जहाज हिलोमा परेर चिप्लिएको प्रारम्भिक जानकारी आएको बताए ।

हाल यात्रुहरू सुरक्षित रूपमा ओरालिएको र लगेज निकाल्ने काम जारी रहेको छ । जहाजमा कति क्षति पुगेको छ भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गर्नेछ । शनिबार उडान हुने/नहुने निर्णय अध्ययनपछि मात्रै हुने विमानस्थल प्रशासनले जनाएको छ ।