१ श्रावण २०८३, शुक्रबार

संसद पुनःस्थापनाको माग जारी राख्दै चुनावमा होमिनेछौँ : मल्ल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । नेकपा एमालेका केन्द्रीय सदस्य जित बहादुर मल्लले संसद पुनःस्थापनाको मागलाई निरन्तर अघि बढाउँदै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले सहभागी हुने स्पष्ट पारेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला मुगु आइपुगेका मल्लले प्रेस चौतारी नेपाल मुगुको आयोजनामा सम्पन्न स्वागत तथा पत्रकार सम्मेलन कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले संविधान, लोकतन्त्र र जनताको अधिकारको रक्षा नेकपा एमालेको मुख्य एजेन्डा भएको उल्लेख गर्दै संसद विघटन गलत कदम भएको जिकिर गरे ।

‘संसद पुनःस्थापनाको माग हाम्रो राजनीतिक र नैतिक दायित्व हो, तर जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई एमालेले कहिल्यै उपेक्षा गर्दैन,’ मल्लले भने । उनले न्यायालय स्वतन्त्र र सक्षम छ भने संसद पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

केन्द्रिय सदस्य मल्लले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको उल्लेख गर्दै पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताको बीचमा जाने तयारी तीव्र पारिएको जानकारी दिए ।

भदौ २३ र २४ पछि देखिएको ‘जेनजी आन्दोलन’का कारण देशको परिस्थिति थप जटिल बनेको उनको भनाइ थियो । उनले आन्दोलनको नाममा केही अराजक तत्त्वले राष्ट्रिय संरचनामा क्षति पु¥याएको आरोप लगाउँदै त्यसले देशलाई गलत दिशातर्फ धकेल्ने खतरा रहेको बताए ।

वैकल्पिक शक्ति उदय भएको सन्दर्भमा अब नेकपा एमाले चुनाव एक्लै लड्छ कि गठबन्धन गरेर जान्छ भन्ने पत्रकारको प्रश्नमा केन्द्रिय सदस्य मल्लले संविधान र लोकतन्त्रको रक्षालाई केन्द्रमा राख्दै देशको समग्र राजनीतिक अवस्था हेरेर निर्णय लिइने स्पष्ट पारे ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट मुगुका जित बहादुर मल्ल र दान सिंह परियार केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रिय सदस्य मल्ल हाल कर्णाली प्रदेश सभा सदस्यसमेत हुन् ।

प्रेस चौतारी नेपाल मुगुको आयोजनामा सम्पन्न कार्यक्रममा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नव–निर्वाचित केन्द्रिय सदस्य मल्ललाई स्वागत गरिएको थियो। कार्यक्रममा स्थानीय सञ्चारकर्मी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।