२२ असार २०८३, सोमबार

सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयर धनीले पाए एक अर्ब नगद लाभांश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भाटभटेनीस्थित आग्रपाली वाङ्केटमा सम्पन्न साधारणसभाले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । सभाले उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरणहरू पनि पारित गरिएको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको छ । लेखापरीक्षण समितिको सिफारिस अनुसार वर्तमान लेखापरीक्षक एस.ए.आर. एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ ।

सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशतले हुने १ अर्ब रुपैयाँ (लाभांशमा लाग्ने करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

यसैगरी, कम्पनीबाट प्रदान गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाबाट पारित गरिएको छ ।