काठमाडौं । पहिरोका कारण घरबारविहीन बनेका बैतडीका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले दुई लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सुर्नया गाउँपालिका–२ कटनोली निवासी रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि जनही एक लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त सहयोग नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखामार्फत उपलब्ध गराइएको हो ।
गत भदौ १५ गते निरन्तर वर्षासँगै आएको पहिरोले दुवै परिवारको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो । त्यसयता उनीहरू आफन्तको घरमा आश्रय लिएर बस्दै आएका थिए । घरबारविहीन बनेकी रेखा चन्द एकल महिला समेत हुन् ।
चेक हस्तान्तरण कार्यक्रम सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर विष्ट र बैंकका सतबाँझ शाखा प्रबन्धक गोविन्द विष्टले संयुक्त रूपमा गरेका थिए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् प्रभावित परिवारलाई राहत स्वरूप आर्थिक सहयोग गरिएको जनाएको छ । यसअघि सुर्नया गाउँपालिकाले पनि पहिरो पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा जनही ५० हजार रूपैयाँ सहयोग गरेको थियो ।









प्रतिक्रिया