काठमाडौं । समानुपातिक निर्वाचनअन्तर्गत राप्रपाले सार्वजनिक गरेको बन्दसूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिन थालेको छ । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक रूपमा नै यसलाई सच्याउनुपर्ने माग राखेका छन् ।
नेताका श्रीमती तथा अवसरका लागि पार्टी छाडेकालाई प्राथमिकतामा राखिएको भन्दै शाहीले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले भनेका छन्, “राप्रपाभित्रका समानुपातिक सूचीको लिस्ट सच्याउन बेलैमा अनुरोध गर्दछु । सच्याउने अझै समय छ । नेताका श्रीमती र अवसरका लागि पार्टी छाडेकालाई प्रमुख स्थानमा राखिनु दुर्भाग्य हो । यस्ता गतिविधिले तपाईंहरुको परिवार त बन्ला तर पार्टी बन्दैन ।”
शाहीको यो टिप्पणी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामाप्रति लक्षित रहेको बुझिएको छ । राप्रपाले सरस्वती लामालाई आदिवासी जनजाति महिलातर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ ।
उपाध्यक्ष तामाङले केही समयअघि पार्टी बैठकमा आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनलाई फकाउनका लागि उनकै पत्नीलाई सूचीको पहिलो नम्बरमा समेटिएको हुनसक्ने एक नेताले बताए । सरस्वती लामा महिला संगठनमा संलग्न रहे पनि उनको योगदान पहिलो प्राथमिकतामा राख्नुपर्ने योगदान नरहेको ती नेताको भनाइ छ ।
यसैगरी, शाहीले संकेत गरेका अर्का पात्र खुस्बु ओली हुन् । खुस्बुले २०७९ सालको आमनिर्वाचनमा राप्रपाबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । झापामा राप्रपाले एमालेसँग चुनावी तालमेल गरेपछि झापा–४ एमालेको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्, तर पराजित भइन् । त्यसपछि राप्रपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
तर अहिले उनै खुस्बुलाई राप्रपाले खसआर्य महिलातर्फ समानुपातिक सूचीको पहिलो स्थानमा राखेको छ । यस निर्णयप्रति पार्टीभित्रका थुप्रै महिला नेतृहरू असन्तुष्ट रहेको बताइएको छ ।








प्रतिक्रिया