मकवानपुर । सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ ।
बैठकले नव बुद्धपार्क क्षेत्र विकास समिति तथा त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । बैठकले प्रदेशभित्र सञ्चालनमा रहेका सवारी साधनसँग सम्बन्धित केही दस्तुर, कर तथा जरिवानामा छुट दिने निर्णय समेत गरेको छ । यस निर्णयले सवारी धनीलाई राहत पुग्ने विश्वास लिइएको छ ।
त्यसैगरी, बैठकले प्रदेशका विपन्न नागरिकलाई आकस्मिक उपचार सेवामा सहजीकरण गर्ने उद्देश्यसहित रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पनि पारित गरेको प्रवक्ता तामाङले बताए ।
मन्त्रिपरिषद् बैठकबाट रामेछाप जिल्लाको सुनापारी गाउँपालिका–४ को वडा विभाजनसम्बन्धी प्रस्तावलाई स्वीकृति प्रदान गरिएको छ । साथै, बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयमा जीवराज बस्याल र गीता हुमागाईलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।
यसैगरी, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले बुझाएको राजीनामा स्वीकृत गरेको पनि प्रवक्ता तामाङले जानकारी दिए ।








प्रतिक्रिया