२७ जेष्ठ २०८३, बुधबार

प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना, राजनीतिक स्थिरता र समृद्धितर्फ राष्ट्रिय एकताको आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत उनले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्पसहित देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन् । उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन् ।

संयोजक प्रचण्डले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ संकेत दिएको उल्लेख गर्दै यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको बताएका छन् । साथै, संविधान निर्माणका क्रममा फरक मतका रूपमा अघि सारिएका एजेन्डाहरूको औचित्य पनि पुष्टि भएको उनको भनाइ छ ।

वर्तमान तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर समृद्धिसहित समाजवादको यात्रा सम्भव रहेको उल्लेख गर्दै उनले नयाँ वर्ष २०२६ ले सबैको जीवनमा सुख, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना गरेका छन् ।