-जय प्रकाश महतो
संविधानको प्रस्तावनामा सबै जाति, वर्ग, समुदाय र भूगोलको धर्म संस्कृतिको रक्षा, सम्मान गरिनेछ, भेदभाव गरिने छैन भनेर स्पष्ट उल्लेख गरिएको हुन्छ । संस्कृति र संस्कार प्रगतिशिल हुन्छ, सधैं एकै नासको हुदैन । यो ज्ञान विज्ञानमा आधारित हुन्छ । संस्कार र संस्कृतिलाई राजनीतिले प्रत्यक्ष प्रभाव पार्दछ । राजनीति चेतनाको विकासक्रमसँगै यसको विकास स्वरुप परिवर्तन वा रुपान्तरण हुन्छ ।
भिन्न शब्दकोशहरुले गरेका परिभाषाहरु जस्ताको त्यस्तै उल्लेख गर्दै यीदुई शब्दहरुसंस्कार र संस्कृतिको बारेमा ध्यानआकर्षण गराउन प्रयास गरिएको छ ।
समाज : एउटै रहनसहन, व्यवस्था, धर्म, आदअँगाल्ने वा एकै स्थानमा बसोवास गर्ने मानिसहरुको समूह, सज्जनहरु भेला भई बस्ने ठाँउ, कुनै विशेष उदेश्य लिएर संगठन गरिएको संस्था (जस्तै आर्य समाज, कुशवाहा समाज, यादव समाज, तेली समाजआदी) ।
संस्कार : अवगुण, दोष, कमजोरी, आदी हटाई परिष्कार गर्ने काम, सुधार, शुद्धता ।
: कुनै बस्तुको मर्मत, जिर्णोद्धार, पवित्रपार्ने काम, संशुद्धि, आदि ।
: वैदिक विधिबाट गरिने सबै संस्कारहरु जस्तै, गर्भाधान, जातकर्म, नाम, कर्म, अन्नप्रशासन आदि ।
संस्कृति : कुनै बस्तुलाई परिमार्जन गरेर वा संस्कृत रुप दिएर चम्किलो, उज्यालो र निखुट बनाउने काम, संस्कार । (स्रोत : नेपाली बृहत् शब्दकोश नेपाल प्रज्ञा प्रतिष्ठान, प्रा. बाल कृष्ण पोखरेल, पेज १२०९ र १२३४) ।
संस्कार : ठीक गर्ने काम, दुरुस्त पार्ने क्रिया, सुधार्ने क्रिया, परिष्कार, शिक्षा, उपदेश, संगत आदिको मनमा परेको प्रभाव, धर्मका दृष्टिले शुद्ध पार्ने क्रिया,
संस्कृति : समाजमा धेरै समयदेखी चल्दै आएको चलन, रीतिरिवाज, शुद्धि, सफाई, संस्कार, मानसिकविकास, सभ्यता, जातीयधर्म, वा परम्परा । (स्रोत : नेपाली शब्द भण्डार पेज ११५३, डा. नरेन्द्र चापागाई) ।
Culture : the customs, ideas, arts, etc of particular civilization, society of social group (कुनै समाजवा सामाजिकदलवा सभ्यताको रीति, चलन, अचार व्यवहार, सोच, इत्यादी, संस्कृति ।
Custom : usual and general accepted behaviour among membersof a social group (रीति,सम्प्रदाय, चाल, व्यवहार, आचार, समाजका सदस्यहरुले अंगिकार गरेका व्यवहार ।
Tradition : the process of passing on from generation to generation, customs, beliefs, stories एक पिंढी देखी अनेकौ पिंढीसम्म हस्तान्तरण हुँदै गएको रिति, प्रथा । (स्रोत : Shyam Advanced Learners Dictionary of Current English : Ram bilashSahu, pages 199, 202, 1022)
संस्कार र संस्कृति भनेको मानिसले जीविकोपार्जन गर्ने क्रममा परम्परागत रुपमा सिक्दै र भोग्दै आएको जीवन शैली हो । सामान्यतः रितिथिति, परम्परा, वेशभूषा, खानपान, चाडपर्व आस्था, विश्वास, नाचगान, धर्मकर्म, शीपकला, कथा–गाथाआदिलाई मात्र संस्कृतिको रुपमा बुझ्ने गरिन्छ । कुनै पनि जाति, वर्ग र समुदायले परापूर्वकालदेखि नै अनवरत रुपमा अवलम्बन गर्दै आएको, अङ्गीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रुप नै वास्तवमा संस्कृति हो ।
केही परिभाषाहरु देहाय अनुसारका छन् :
बाबुराम आचार्य (२०५४) का अनुसार देश, समाज वा जातिहरुमा रहेको चालचलन, रितिरिवाज, भेषभूषा, आमोद–प्रमोद, शिल्प व्यवसाय, धार्मिक मान्यता र भाषा एवम् साहित्य आदि मानसिक चिन्तनका उपजको समष्टि नै त्यस देश, समाज वा जातिको संस्कृति हो ।
यसरी नै रेशराज अधिकारी र हरिहर घिमिरे (२०५६) का अनुसार सारांशमा भन्ने हो भने संस्कृति मानवले एक समाजको सदस्यको हैसियतले आर्जन गरेको ती सम्पूर्ण कुराहरुको योग हो, जसमा ज्ञान, विश्वास, मूल्य, मान्यता, भाषा, कानुन, प्रथा आदि कुराहरुको समावेश भएको हुन्छ ।
संस्कृति सम्बन्धी नेपाली शब्दसागर (२०५८) मा यस्तो उल्लेख गरिएको छ – कुनै चिजलाई परिमार्जन गरी निस्खोट दिने काम, परिष्कार, संस्कार, कुनै राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिबिम्ब देखिने शिल्प–विचार, दर्शन आदि क्रियाकलापको परिष्कृत रुप, अनन्त पूर्वदेखि आचार–विचार, आदिमा विकसित हुँदै आएको समाजको यथार्थ स्वरुप देखिने अभिव्यक्ति आदि समेतको समूह वा साधन, कला–साहित्य–भाषा–धर्म आदि मूल्य परम्पराको समष्टि नाम ।
निनु चापागाई (२०५९) का अनुसार संस्कृति, सामाजिक, आर्थिक संरचनाको प्रतिबिम्ब भएको हुँदा यसको परिधि एकदमै व्यापक छ । मानवजातिले भौतिक र मानसिक श्रमबाट सिर्जना गरेका सबै मूल्यवान् वस्तुहरु संस्कृति हुन् ।
भरत प्रसाद लामिछाने (२०६३) का अनुसार वैयक्तिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक व्यवस्था र कलाकौशल, रहनसहन, भाषा, भेषभूषा, उपासना र परम्परागत संस्कार आदि समस्त हलचल नै संस्कृति हो ।
अमर गिरी (२०६७) भन्छन् – संस्कृति भन्नाले भौतिक र आत्मिक संस्कृतिको योग भन्ने बुझिन्छ । भक्त राई (२०७१) का अनुसार संस्कृति भनेको मानिसले प्राचीन समयदेखि आस्थापूर्वक एवम् विश्वासपूर्वक अवलम्बन गर्दै आएको जीवनशैली हो ।
मगही संस्कार र संस्कृतिको विकास मागधी र पाली भाषा संस्कृति संस्कारबाट विकसित भएको हो । यो सबै भन्दा प्राचीन हो । संस्कृतिको महत्वपूर्ण विशेषता प्राचीनता हो । मानिस जति नै सभ्य र आधुनिक बन्न पुगे पनि उसको व्यवहारमा प्राचीन संस्कृति कतै न कतै झल्केकै हुन्छ । मानिसले सृष्टिकाल देखि नै आफ्नै प्रकारको संस्कृति निर्माण गरेको हुन्छ, जसले मानिसलाई पछ्याई रहेको हुन्छ । त्यसैले संस्कृति रातारात तुरुन्तै निर्माण नभई प्राचीन समयदेखि नै निरन्तर रुपमा हस्तान्तरण हुँदै आएको वस्तु हो ।
प्राचीन समयदेखि वर्तमान युगसम्म फड्को मार्दा मानिसले अनेकौँ संस्कृतिको निर्माण गर्दै तथा छाड्दै आएका छन् र ती परम्परागत संस्कृतिहरु समय, परिस्थिति, सन्दर्भ तथा आवश्यकता अनुसार क्रमशः गतिशील थपघट एवम् परिवर्तित हुँदै जान्छन् । त्यसैले संस्कृति परिवर्तनशील वस्तु हो ।
संस्कृति मूलतः दुई प्रकारका हुन्छन् । देख्न र छुन सकिने संस्कृति जसलाई भौतिक वा मूर्त संस्कृति भनिन्छ र देख्न र छुन नसकिने संस्कृति जसलाई अभौतिक वा अमूर्त संस्कृति भनिन्छ ।
अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि सन् २००३ मा : ‘अमूर्त सांस्कृतिक सम्पदा’ भन्नाले प्रचलनहरु, प्रतिनिधिहरु, अभिव्यक्तिहरु, ज्ञान, सीपहरु साथसाथै साधनहरु, वस्तुहरु, कला वस्तुहरु र त्यससँग जोडिएका सांस्कृतिक स्थलहरु, जसलाई ती समुदायहरु, समूहहरु तथा कतिपयअवस्थामा व्यक्तिहरु समेतले सांस्कृतिक सम्पदाको अंगको रुपमा चिनारी गरिरहेका हुन्छन् तिनलाई बुझ्नु पर्दछ ।’ भनी परिभाषित गरिएको छ ।
संस्कार शब्दको ब्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ धातुमा र्धञ प्रत्यय लगाएर भएको छ । ऋग्वेदमा संस्कारको ठाउँमा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थमा प्रयोग गरेको छ ।
त्यसैले, संस्कृति र संस्कार समाजको अक्षय गहना हो । यसले सुशासन, अनुशासन, व्यवहार, रितिरिवाज र परम्परालाई सभ्य, सुन्दर र आकर्षक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । समाजको आधार स्तम्भ संस्कृति र संस्कार नै हो ।
(जय प्रकाश महतो भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष हुन् )











प्रतिक्रिया