१४ असार २०८३, आइतबार

शीतलहरका कारण उदयपुरका तीन पालिकाका विद्यालय बन्द

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । केही दिनयता अत्याधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि उदयपुरका विद्यालयहरु बन्द हुने क्रम सुरु भएको छ । शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुने क्रम बढ्दै गएको हो ।

मंगलबार चौदण्डीगढी नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बुधबारबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बिदा दिएको जनाएको छ ।

यस्तै, बेलका नगरपालिकाले पनि बुधबारबाट तीन दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने मौखिक निर्णय भएको र सूचना बुधबार सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

जिल्ला सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको सूचना अधिकारी विष्णु खत्रीले बताए । कटारी नगरपालिकामा भने अहिले कुनै पनि निर्णय नभएको र मंगलबारको जस्तै शीतलहर चलेको खण्डमा बुधबार नगर प्रमुखस्तरीय निर्णयले विद्यालयहरु बन्द हुनसक्ने सूचना अधिकारी गोविन्द खड्काले जानकारी दिए ।

अत्याधिक रुपमा बढेको चिसो तथा शीतलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वर्षे र हिउँदे बिदाबाट कट्टा हुनेगरी नियमित पठनपाठन कार्य बन्द गरिएको पालिकाहरुले जनाएको छन् ।

उदयपुरमा केही दिनयता चिसो बढेको भए पनि मंगलबारदेखि शीतलहर सुरु भएसँगै जनजीवन प्रभावित हुन् थालेको छ । बिहान बेलुका बाक्लो हुस्सुसँगै शीतलहर चल्न थालेपछि यहाँका बालबालिका, वृद्धवृद्धा, पशु चौपायामा समेत असर पर्न थालेको छ ।