काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरु बिक्रीमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट यही पुस १३ गते प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ दरको १६ करोड इकाइले हुन आउने कुल १ अर्ब ६० करोड रकम बराबरको फण्ड जारी गर्न अनुमति प्राप्त भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको रहेको छ ।
निष्कासन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपाल लिमिटेडबाट कोष प्रवर्द्धको लागि रेटिङ ‘इक्राएनपी आईआर एए माइनस’ले प्राप्त गरेको र योजना व्यवस्थापकको लागि ‘इक्राएनपी–एएमसी क्वालिटी ३’ प्राप्त गरेको छ । यसको अर्थ उच्च सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्नसक्ने भन्ने हुन्छ ।
फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा निष्काशन पश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ ।
योजना व्यवस्थापकद्वारा सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी चाँडै नै सर्वसाधारणहरुको लागि इकाइहरु बिक्रीमा ल्याउने जानकारी पनि कम्पनीले दिएको छ ।








प्रतिक्रिया