२१ असार २०८३, आइतबार

रास्वपा समानुपातिक सूची : चितवनमा २१ जना छानिँदा ३९ जिल्लामा शून्य

सेलिब्रेटी र नेताका जिल्लाको हालीमुहाली

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सुमन दाहाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको बन्दसूचीमा सबैभन्दा बढी २१ जना चितवनका छन् ।

७७ जिल्लामध्ये ३९ जिल्लाबाट एक जना पनि उम्मेदवार छैनन् अर्थात समावेश गरिएको छैन । ३९ जिल्लाबाट एक जना पनि उम्मेदवार नपर्नु समानुपातिक प्रतिनिधित्वको मूल मर्मविपरीत भएको भन्दै पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न उठेको छ ।

चितवन रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । लामिछाने २०७९ को प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको उपनिर्वाचनमा चितवन–२ बाट विजयी भएका थिए ।

रास्वपाले चितवनसँगै काठमाडौं उपत्यका, मोरङ लगायतका जिल्लालाई प्राथमिकता दिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाबाट उम्मेदवार शून्य हुँदा कर्णाली र सुदूरपश्चिमलाई बेवास्ता गरिएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ । किनकी कर्णाली, सुदूरपश्चिम प्रदेशजस्ता विकट प्रदेशका जिल्लाहरुमा उम्मेदवार शून्यजस्तै छ ।

पार्टीको समानुपातिक बन्दसूचीमा हालै रास्वपामा आबद्ध भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह निकट ४० जना र उर्जामन्त्री कुलमान घिसिङ निकट १८ जना समावेश भएको बताइएको छ ।

यसैगरी, बन्दसूचीमा राजनीतिबाहेकका व्यापारी र सेलिब्रेटीहरूलाई प्राथमिकतामा राखिँदा विकट जिल्लाका नेता, कार्यकर्ता भने सूचीबाहिर परेका छन् । सूचीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, गायक प्रकाश सपूतदेखि व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल तथा गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणा लगायतका नाम छ ।

रास्वपाको बन्दसूचीप्रति पार्टीकै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । साथै, छनोट प्रक्रियामा स्पष्ट भेदभाव भएको आरोप उनीहरुको छ । उनीहरूका अनुसार नयाँ वैकल्पिक शक्ति बन्न अघि बढेको पार्टीले पहुँच र प्रभावको आधारमा उम्मेदवार छान्नु निराशाजनक छ ।

यी ३९ जिल्लामा रास्वपाको समानुपातिक उम्मेदवार शून्य

कोशी प्रदेशः
उदयपुर
तेह्रथुम
धनकुटा
सङ्खुवासभा

मधेश प्रदेशः
रौतहट
पर्सा

बागमती प्रदेशः
काभ्रेपलाञ्चोक
दोलखा
धादिङ
नुवाकोट
मकवानपुर
सिन्धुली
रामेछाप

लुम्बिनी प्रदेशः
अर्घाखाँची
गुल्मी
पाल्पा
प्युठान
बर्दिया
रोल्पा

गण्डकी प्रदेशः
तनहुँ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
पर्वत
बागलुङ
लमजुङ
मनाङ
मुस्ताङ

सुदूरपश्चिम प्रदेश
अछाम
डडेल्धुरा
डोटी
बझाङ
बजुरा
बैतडी
कैलाली
दार्चुला

कर्णाली प्रदेश जिल्ला
कालिकोट
डोल्पा
जाजरकोट
दैलेख
सल्यान