२१ असार २०८३, आइतबार

बालेन-रवि : खोक्रो नकारात्मकताले देश बन्छ कि भत्किन्छ ?

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मुकुन्द भण्डारी

कुनै समय धुरिमा पुगेका बालेन हिउँदे झरीसँगै धुरिबाट पखालिएर बलेनिमै पछारिने अवस्थामा पुग्दै छन् । कुनैबेला नानिमैयाँ दाहालले जितेको काठमाडौंको चुनाव बालेनले पनि जिते । जित त भयो, तर त्यो जितको समीक्षा गर्दा पुराना दलहरूको अकर्मण्यतामात्र देखाइयो । त्यो बेला मलाई पनि केही हदसम्म ठीकै हो कि जस्तो लागेको थियो । तर आज आएर लाग्छ-म आफैँ गलत साबित भएँ ।

किनकि इतिहासले बारम्बार के देखाएको छ भने, कुनै एक पात्र वा दलप्रतिको अत्यधिक अपेक्षा धेरै लामो समय टिक्दैन । नानिमैयाँ दाहालले जित्दा हौसिएका काठमाडौंवासी धेरै समयमै निराश भए । माओवादीले बहुमत ल्याएर कांग्रेस–एमालेलाई लगभग भित्तामा पुर्‍याउँदा खुसी भएका नेपाली जनताको त्यो खुसी पनि दीर्घकालीन हुन सकेन ।

पत्रकारिताको रफ्तारसँगै केजरीवाललाई मार्गदर्शक मानेर राजनीतिलाई एउटै मोडमा हाँक्न हौसिएका रविले पहिलो बिट राम्रै बुन्न सफल भए । तर त्यो सफलता उनको पत्रकारिताको ब्याज, पुराना पार्टीप्रतिको आक्रोश र तिनका कमजोरीमाथि केन्द्रित दृष्टिकोणको उपज थियो । त्यसपछि के भयो भन्ने कुरा आज सबैका सामु छ ।

आज देखिएका ‘नयाँ दल’ भनिनेहरू दुधले नुहाएका छैनन् । आफूलाई नक्कली अमृतजलले नुहाएको जस्तो देखाउँदै, पुरानामाथि विषबमन छर्कँदै, आफ्ना स्वार्थका गोरेटो खन्ने मनस्थितिमा उनीहरू छन् ।
न लक्ष्य छ, न सिद्धान्त ।
न विधि छ, न विधान ।
न दीर्घकालीन मार्गदर्शन ।

पुराना दलका केही कमजोरीलाई सानो सिद्राबाट ठूलो घाउ बनाएर, बिना लक्ष्यको यात्रामा निस्कँदा कति कठिनाइ आउँछन् भन्ने कुरा समयले नै देखाउनेछ । अगाडि बढ्ने बाटो अर्काको खेदो खनेर होइन, आफ्नै सकारात्मक काम र सही मार्गदर्शन प्रस्तुत गरेर बनाइन्छ ।

तर नकारात्मक सोचको भेलले ८ र ९ सेप्टेम्बरको काहालीलाग्दो इतिहास कोरियो । त्यो इतिहास अब बालेन, रवि, कुलमान र अहिले स्वयं सरकारमा रहेका केही प्रतिनिधिहरूको टाउकोमा सधैँ गर्हुङ्गो बोझ बनेर रहने संकेत देखिँदै छ ।

२००७ सालदेखि २०७० सालसम्मको इतिहास फर्केर हेर्ने हो भने, सत्य र तथ्यलाई मसिनो गरी केलाउने नागरिकले देश कुन अवस्थाबाट गुज्रिएको थियो भन्ने स्पष्ट देख्छ । छिमेकीको अप्रत्याशित हस्तक्षेप कुन हदसम्म फैलिएको थियो रु त्यसलाई रोक्ने प्रयास र साहस हुँदै नभएको होइन । तर कमजोर अर्थतन्त्रका बीच पनि दुई–दुई पटक संविधानसभाको चुनाव गर्नुपरेको बाध्यता थियो ।

यति धेरै कठिनाइका बाबजुद २०७० सालपछि देशले केही लय समातेको थियो । भूकम्पले थिलो–थिलो बनाएको देशलाई पुनर्निर्माणमार्फत लाखौँ घर र हजारौँ सम्पदालाई पुरानै अवस्थामा फर्काइयो । त्यो सानो उपलब्धि थिएन ।

त्यसपछि फेरि कोभिडले विश्व नै ठप्प पार्‍यो । एक समय परीक्षणका लागि नमुना हङकङ पठाउनुपरेको देशले केही महिनामै प्रत्येक जिल्लामा ल्याब सञ्चालन गर्न सफल भयो ।

पछिल्ला ५–७ वर्षमा देश नयाँ काँचुली फेर्ने तयारीमै थियो—
हाइवे चौडा गर्ने काम,
टनल युगको सुरुवात,
दैलेखमा ग्यास र पेट्रोल उत्खननको प्रारम्भ,
सरकारी कामको डिजिटलाइजेसन,
पहाडी भूभागमा नयाँ राजमार्ग,
चीनसँगको पारवहन सन्धि-
यी सबै यही अवधिभित्र भएका होइनन् र ?

यी सबै दीर्घकालीन पूर्वाधार र सम्झौताहरूलाई नजरअन्दाज गर्दै ‘केही पनि भएन’ भन्ने खोक्रो नकारात्मक भाष्य किन फैलाइँदै छ रु विदेशमा बसेर त्यहाँको विकाससँग तुलना गर्नु अघि आफ्नो इतिहास बुझ्न किन हिच्किचाइन्छ ?

यो देश सिङ्गापुरबाट इथियोपिया भएको होइन । इथियोपियाजस्तै अवस्थाबाट ५–७ वर्षको अन्तरालमा विकासशील राष्ट्रको बाटोमा टेक्दै अघि बढिरहेको थियो । तर हाम्रै नकारात्मक सोच, विदेशी स्वार्थका कठपुतली बनेका ‘नयाँ’ भनिने पात्र र सामाजिक सञ्जालले देवत्वकरण गरेका अनुहारप्रति अन्धभक्त बनेका हामीजस्ता विवेकहीन दिमागले देशलाई फेरि २–३ दशक पछाडि धकेल्ने प्रयास गरिँदै छ ।

बेलैमा सोचौँ ।
८ र ९ सेप्टेम्बरलाई कसैले माफ गरे पनि इतिहासले माफ गर्ने छैन ।

हुन सक्छ, चुनाव नजिकिँदै गर्दा ‘नयाँ’ भनिनेहरू मर्ज हुने नाटक मञ्चन भइरहेछन् । अन्ततः यी सबै एउटै ठाउँमा आउने सम्भावना प्रबल छ । अहंकारका कारण केही समय अभिनय गरे पनि, स्वार्थ पूरा गर्न उनीहरूलाई कसैले न कसैले एक गराउनेछ । किनकि मोहरा त परेकै छन् ।

हामी सबै बेलैमा सचेत हुनुको विकल्प छैन ।