२६ असार २०८३, शुक्रबार

केदार संकेतको ‘अन्तिम साँझ’ लोकार्पण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाएका स्रष्टा केदार संकेतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ ।

मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा कृतिको लोकार्पण गरिएको थियो । कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित हुने बताए । पुरस्कार, प्रतियोगिता र प्रचारका भरमा स्थापित हुने चाहना राख्ने सर्जकहरूको भीडमा केदार सङ्केत फरक देखिएको उनको भनाइ थियो । प्रयोगवादी शैली, विषयवस्तुको विविधता र कथानकको गम्भीरताले गर्दा राम्रो कृतिले समयसँगै आफैँ मूल्याङ्कन पाउँदै चर्चा प्राप्त गर्ने उनले बताए ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार संकेतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको बताए । उनले कृतिका रूपमा आइपुग्दा कथाहरू यथेष्ट परिमार्जित र परिष्कृत बनेको उल्लेख गर्दै आगामी लेखनकर्म अझ सशक्त रूपमा अघि बढोस् भनी शुभकामना व्यक्त गरे ।

कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै भएको बताउँदै आकर्षक कलेवर र साजसज्जामा आएको पुस्तकमा मूर्धन्य साहित्यकारहरूको भूमिका रहनुले कृतिको स्तरीयता पुष्टि हुने बताए । उनले केदार संकेतका कलात्मक प्रस्तुति र कथाहरू नेपाली साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

सभापति दाहालले प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको र आफू ती कथाबाट अत्यन्त प्रभावित भएको उल्लेख गर्दै गहन समीक्षात्मक मन्तव्य राखेका थिए ।

कृतिकार केदार संकेत भौतिक रूपमा उपस्थित हुन नसके पनि भिडियो कलमार्फत आफ्नो लेखकीय मन्तव्य व्यक्त गरेका थिए । लेखकले सिर्जनाका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त गर्ने भएकाले धेरै बोलिरहनु नपर्ने उनको भनाइ थियो । पाठकको प्रतिक्रिया नै लेखकका लागि ठूलो पुरस्कार भएको उल्लेख गर्दै प्राप्त प्रतिक्रियाका आधारमा आगामी लेखनकर्म परिमार्जन गर्दै अघि बढ्ने उनले बताए ।

यस अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुवँर लगायत लेखक तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम मिलाप मासिकका सम्पादक कृष्ण भुसालको मन्तव्यसहित सम्पन्न भएको थियो ।