पोखरा । देशको प्रमुख पर्यटकीय नगरी पोखरामा आज देखि २७औँ पोखरा सडक महोत्सव भव्य सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले महोत्सवको उद्घाटन गरे । महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा मन्त्री घिसिङले पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । यस्ता महोत्सवले पर्यटनसँगै स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधार, ऊर्जा र सेवाको निरन्तर सुधार आवश्यक रहेको औँल्याए ।
लेकसाइडको करिब तीन किलोमिटर सडकखण्डमा सञ्चालित महोत्सवमा स्वदेशी तथा विदेशी खानाका परिकार, सांस्कृतिक प्रस्तुति, लाइभ संगीत, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश छन् । साथै, अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरिने विभिन्न विशेष कार्यक्रम महोत्सवका आकर्षणका रूपमा रहेका छन् ।
महोत्सव अवधिभर आन्तरिक तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यसले होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटनसँग सम्बन्धित अरू व्यवसायमा सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ ।
फेवाताल किनारस्थित लेकसाइडमा करिब साढे तीन किलोमिटरसम्म फैलिएको क्षेत्रमा महोत्सव आयोजना भएको छ । यहाँ सडक रंगीचंगी संस्कृति, स्वादिला परिकार र मनोरञ्जनले भरिएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने मूल नारालाई आयोजकले अघि सारेको छ ।
विगत २६ वर्षदेखि निरन्तर रूपमा आयोजना गरिँदै आएको यो महोत्सवले स्थानीय पर्यटन र व्यावसायिक समुदायमा सकारात्मक प्रभाव पारेको आयोजक संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जनाएको छ ।
महोत्सवमा यो वर्ष पनि नेपाली तथा विदेशी परिकारका खानाका स्टल, स्थानीय सांस्कृतिक प्रस्तुति, लाइभ संगीत कार्यक्रम, बोट रेस, डोरी तान्ने प्रतियोगिता, वेटर रेस तथा फोटो÷भिडियो प्रदर्शनीलगायत विविध कार्यक्रम समावेश छन् ।
रेवान पोखराका पदाधिकारीका अनुसार, यो महोत्सवले पोखराको सांस्कृतिक विविधता, पर्यटन सम्भावना र स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । पछिल्ला संस्करणले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै पोखराबाट अंग्रेजी नयाँ वर्षको उत्सव मनाउने परम्परा स्थापना गरेको छ ।








प्रतिक्रिया