काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको ७ बुँदे सहमतिलाई लिएर मनोरञ्जन क्षेत्रबाट समेत विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
फिल्म, संगीत, टेलिभिजन तथा कन्टेन्ट क्रिएटरहरूले रवि–बालेन सहमतिको स्वागत गर्दै आशा र अपेक्षा व्यक्त गरेका छन् भने केहीले उनीहरुको वैचारिकीबारे प्रश्न उठाएका छन् ।
सहमतिको मस्यौदा निर्माणदेखि सहमति जुटाउने प्रक्रियामा कलाकारहरूको सक्रिय भूमिका रहेको थियो । बालेन निकट मानिने कुमार ब्यञ्जनकार चलचित्र तथा संगीत क्षेत्रका मिडिया संयोजक तथा फिल्म निर्माता हुन् । उनी हालै रिलिज भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ का निर्माता समेत हुन् ।
रास्वपा नेता असिम साह फिल्म निर्माता तथा निर्देशक हुन् भने उनका दाजु आसिफ शाह गायक, निर्माता तथा अभिनेता हुन् । चर्चित निर्माता–निर्देशक निश्चल बस्नेत पनि यही क्षेत्रसँग जोडिएका व्यक्ति हुन् ।
थुप्रै चर्चित कलाकारहरूले सामाजिक सञ्जालमार्फत सहमतिप्रति समर्थन जनाएका छन् ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले विगतका राजनीतिक विकल्पहरूको स्मरण गर्दै सहमतिको सफल कार्यान्वयनको कामना गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “२००७ सालमा काग्रेस, २०४६ सालपछि काग्रेस र एमाले । ६२ , ६३ मा माओबादी । जनताले हरेकपल्ट परिवर्तनको आवाजलाई साथ दिएकै हुन् ! पटक–पटक अनेकौ विकल्पहरूको प्रयोग भयो ! तर देशले सोचे जस्तो गति लिन सकेन ! यो पछिल्लो मिलनपछि मुलुकले फेरी अर्को विकल्प खोज्नु नपरोस सबै साथीहरूलाई शुभकामना….!!!!”
अभिनेता निर्मल शर्माले देश समृद्धितर्फ अघि बढ्ने आशा व्यक्त गरेका छन् भने अभिनेता रमेश उप्रेतीले सहमति निस्वार्थ रूपमा देश र जनताको हितमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।
सहमतिका सूत्रधार मानिएका निर्देशक निश्चल बस्नेतले “देशको लागि सँगै” भनेका छन् ।
अभिनेत्री स्वस्तिमा खड्काले “म नेपाल हाँसेको हेर्न चाहन्छु” लेखेकी छन् । अभिनेत्री प्रियंका कार्की लेख्छिन्, “आशा ।” अभिनेता नाजिर हुसेन लेख्छन्, “म नेपाल हाँसेको हेर्न चाहन्छु ।” सहमतिको सूत्रधार मानिएका रास्वपा नेता तथा फिल्म निर्देशक असिम शाहले पनि लेखेका छन्, “म नेपाल हाँसेको हेर्न चाहन्छु ।”
फिल्म निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले “१ र १ मिलेर २ होइन, ११ बनोस् ।” भनेका छन् ।
अभिनेत्री मनिषा कोइरालाले “विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो ।” भनेकी छन् ।
गायिका एलिना चौहानले “अब के होला, जे होला राम्रो होला ।” भनेकी छन् ।
संगीतकार दीपक शर्माले पुरानो राजनीतिक शैलीको आलोचना गर्दै नयाँ सोच र युवाको नेतृत्व आवश्यक रहेको बताएका छन् । कलाकार जयकिसन बस्नेतले रवि लामिछानेले पुनः मन जितेको बताएका छन् भने अभिनेत्री केकी अधिकारीले यो एकता सदैव नेपाल र नेपालीको हितमा अघि बढोस् भन्ने शुभकामना दिएकी छन् ।
गायक युवराज चौलागाईं, अभिनेता कमलमणी नेपाल र गायक शिव परियारले पनि देशमा सुशासन, एकता र सकारात्मक परिवर्तनको अपेक्षा व्यक्त गर्दै सहमतिलाई स्वागत गरेका छन् ।








प्रतिक्रिया