१० असार २०८३, बुधबार

पुराना–नयाँ नेताको बहस र सपना बेच्ने प्रवृत्तिप्रति बैंकर मनोज ज्ञवालीको टिप्पणी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका चर्चित बैंकर मनोज ज्ञवालीले नेपालको राजनीतिमा बढ्दो निरासा, आरोप–प्रत्यारोप र योजनाविहीन नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले चर्को भाषण र पुराना नेतामाथि गाली गर्ने प्रवृत्तिलाई ‘भाइरल र विश्वासिलो’ बनाउने संस्कारले देशलाई झन् कठिन मोडतर्फ धकेलिरहेको टिप्पणी गरेका छन् ।

ज्ञवालीका अनुसार आजको राजनीतिमा न त आफ्ना काम र योगदान प्रस्तुत गर्नुपर्ने बाध्यता देखिन्छ, न त देश बनाउने स्पष्ट कार्ययोजना, साधन–स्रोत परिचालनको नीति र जिम्मेवार रोडम्यापको माग । “चर्को स्वरमा गाली गर्न सक्ने नै भाइरल र विश्वासिलो बन्ने अवस्था देखिन्छ,” उनले उल्लेख गरेका छन् ।

उनले ‘नयाँ’ र ‘पुराना’ नेताको बहसलाई पनि प्रश्न गर्दै आजका पुराना कुनै समय नयाँ नै थिए र आजका नयाँ पनि कुनै दिन पुराना हुने यथार्थ स्मरण गराएका छन् । “जब आजका पुराना नयाँ थिए, उनीहरूले पनि तत्कालीन पुरानालाई गाली गरे, योजनाविनाका सपना बेचे,” ज्ञवालीको भनाइ छ । ती सपना पूरा नभएको मुख्य कारण तथ्यपरक योजना र कार्यान्वयनको अभाव भएको उनले औंल्याएका छन् ।

बाचा पूरा नगर्दा पनि आत्मआलोचना नगर्ने, जिम्मेवारी सक्षम व्यक्तिलाई हस्तान्तरण नगर्ने प्रवृत्तिले नै नागरिकमा चरम निरासा र वितृष्णा फैलिएको ज्ञवालीको निष्कर्ष छ । “यही कमजोरीका कारण आज नागरिकहरू राजनीतिप्रति निराश भएका हुन्,” उनले भनेका छन् ।

देश चलाउने कामलाई सजिलो ठान्ने मानसिकताप्रति कटाक्ष गर्दै उनले घर वा सानो संस्था चलाउनै कति गाह्रो हुन्छ भन्ने उदाहरण दिएका छन् । “देश चलाउनु त झन् कति जटिल छ भन्ने कुरा हामीले बुझ्नुपर्छ,” उनको भनाइ छ ।

ज्ञवालीले भनेका छन्– पुराना नेताको कमजोरी नै नयाँ नेताको ताकत बन्न सक्दैन । देश निर्माणका लागि साधन–स्रोतको परिचालन, तथ्यपरक कार्ययोजना र त्यसमा आधारित सपना आवश्यक रहेको उनको जोड छ । नागरिकले पनि भावनामा होइन, यिनै आधारमा विश्वास गर्नुपर्ने उनले बताएका छन् ।

देश बनाउने प्रतिबद्धता व्यक्त गर्नेहरूप्रति सन्देश दिँदै उनले पहिले यथार्थपरक योजना बनाउन, त्यसकै आधारमा सपना देखाउन आग्रह गरेका छन् । “पुरानाको कमजोरी बेचेर होइन, आफ्नै योजनाको बलमा राजनीति गर्नुपर्छ,” उनले लेखेका छन् । उनले इतिहास कसैको कालो नलेखियोस्, निरासा नथपियोस् र भावी पुस्ताले हामीलाई सराप्न नपरोस् भन्ने चेतावनीसहित अझै सबै कुरा बिग्रिन बाँकी रहेको उल्लेख गरेका छन् । नेता र जनता दुवैले नियत सफा राख्दै विवेकपूर्ण निर्णय लिनुपर्नेमा उनले जोड दिएका छन् ।