हेटौंडा । एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप सार्वजनिक गरिएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे जानकारी गराएका हुन् ।
प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत र भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोधबिना सही र विश्वसनीय सूचना उपलब्ध गराउनु हो ।
हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी र पर्यटकहरूले सरकारी सूचना बुझ्न, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया र आपतकालीन अवस्थामा सही निर्णय लिन कठिनाइ भोग्दै आएका छन् । यस्ता समस्याको समाधान गर्न यो एप विकास गरिएको सापकोटाको भनाइ छ ।
दागाची एपले हाल १६ भन्दा बढी भाषामा सूचना सेवा दिइरहेको छ । एपमा श्रम, भिसा, स्वास्थ्य र कानुनसम्बन्धी जानकारी, रोजगारी, घर कोठा खोज्ने, विश्वविद्यालय भर्ना प्रक्रिया, आपतकालीन सहायता र सुरक्षासम्बन्धी सूचना उपलब्ध छ । एआई आधारित सरल र सुरक्षित प्रणाली प्रयोग गरिएको सापकोटाले बताए । यो एपलाई केवल सूचना दिने माध्यममा मात्र सीमित नराखी विदेशी नागरिकका लागि विश्वसनीय डिजिटल सहायकको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको उनले स्पष्ट पारे ।
एपमा नेपालमा रहेका विदेशी नागरिकले नेपाली समाज, सेवा, स्वास्थ्य, कानुन, अवसर र आर्थिक गतिविधिसम्बन्धी जानकारी आफ्नै मातृभाषामा पाउन सक्ने व्यवस्था गरिएको छ । नेपाली उद्यमीहरूले यो एपमार्फत आफ्ना सेवा र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नसक्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया