हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका छन् ।
हेटौंडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५० औं वार्षिकोत्सव) समापन समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री देवकोटाले प्रमाणपत्रका लागि मात्र पढ्ने र पढेर पनि बेरोजगार बस्नुपर्ने शिक्षाको अब कुनै सान्दर्भिकता नरहेको बताए । उनले शिक्षालाई श्रम र रोजगारीसँग जोड्नुपर्नेमा विशेष जोड दिए ।
‘हामीले विद्यार्थीलाई विद्यालय पठाउने तर पढेर निस्कँदा रोजगारी नपाउने शिक्षा दिने कि नदिने ? यो आजको मूल प्रश्न हो,’ उनले भने, ‘अबको शिक्षाले विद्यार्थीको हातमा सीप र मुखमा रोजगारी सुनिश्चित गर्नुपर्छ ।’ उच्च शिक्षाका लागि विदेश जाने लहर रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने खालका विषय विद्यालय तहदेखि नै सुरु गर्नुपर्ने उनको धारणा थियो ।
वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै मन्त्री देवकोटाले विद्यालयहरूले अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्फर्मेसन टेक्नोलोजी (आईटी) र बीसीएजस्ता अत्याधुनिक विषयको अध्यापन सुरु गर्नुपर्ने बताए । बागमती प्रदेश सरकारले स्थापना गरेको ‘बागमती विश्वविद्यालय’ र सीटीईभीटीसँगको समन्वयमा यस्ता प्राविधिक शिक्षालाई गाउँगाउँका विद्यालयसम्म पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
विसं २०३२ सालको कठिन परिस्थितिमा मुठीदान गरेर विद्यालय स्थापना गर्ने संस्थापक, अग्रज र अभिभावकहरूको योगदानको मन्त्री देवकोटाले उच्च प्रशंसा गरे । ‘जुन समाजले आफ्ना अग्रणी र अग्रजको सम्मान गर्दैन, त्यो समाजको भविष्य उज्ज्वल हुन सक्दैन,’ उनले भने, ‘हिजोको पुस्ताले खाएर नखाएर बनाएको जगमा नै आजको सुन्दर विद्यालय उभिएको छ ।’
भौतिक पूर्वाधार विकासमन्त्रीका हैसियतले उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयलाई राष्ट्रियस्तरमा चिनाउन आवश्यक पर्ने सुविधासम्पन्न हल, कन्फरेन्स रुम र अन्य प्राविधिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले विशेष प्राथमिकता दिने उनले बताए ।
समारोहमा बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका सचेतक एकालाल श्रेष्ठले विद्यालयको शैक्षिकस्तर उकास्न शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्य अनिवार्य रहेको बताए । यी तीनै पक्षको साझा प्रयास र मेहनतले मात्रै विद्यालयले अपेक्षित सफलता प्राप्त गर्ने र गुणस्तरीय जनशक्ति उत्पादन हुने उनको भनाइ थियो ।
श्रेष्ठले विकट पहाडी भेगका सस्र्ये र चुवापानीदेखि छिमेकी गाउँपालिका मनहरीसम्मका विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरेर निर्मल माध्यमिक विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा गरे ।
बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिँदै श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार, खेलमैदान, तारबार र बगैँचा व्यवस्थापनमा सरकारले सहयोग गर्दै आएको बताए । साथै, प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम ‘स्कुल नर्स’ले विद्यालयको वातावरण थप व्यवस्थित बनाएको उनले उल्लेख गरे ।
विद्यालय हिजो र भोलिको पुस्ताको बलियो मार्गदर्शन : सांसद पाठक
बागमती प्रदेशसभा सदस्य भारती पाठकले विद्यालयको ५० वर्षको गौरवमय इतिहास निर्माणमा स्थानीय बासिन्दा र अभिभावकहरूको योगदान अतुलनीय रहेको बताइन् ।
विद्यालयकी पूर्वविद्यार्थी समेत रहेकी पाठकले विद्यालय हिजो र भोलिको पुस्ताका लागि एउटा बलियो मार्गदर्शन भएको उल्लेख गरिन् । उनले अबको शिक्षा प्रमाणपत्रमुखी मात्र नभई जीवनोपयोगी र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा जोड दिइन् । विद्यालयलाई आगामी दिनमा प्राविधिक र सीपमूलक शिक्षाको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा आयोजित पाँच दिने स्वर्ण महोत्सवको समापन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्र बर्तौला र प्रधानाध्यापक प्रबोध विडारीले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, राक्सिराङका अध्यक्ष राजकुमार मल्ल, हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदी, वडा नं. ११ की जुना दाहाल, वडा नं. १५ का सुनिल मोक्तान, पूर्वविद्यार्थी डा. कृष्णकुमार भेटवाल, पूर्वगाविस अध्यक्ष हरिबहादुर पण्डित लगायत समाजसेवी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो ।
विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा पाँच दिनसम्म विभिन्न १६ वटा कार्यक्रम आयोजना गरेको थियो । यस अवसरमा विद्यालयको आधिकारिक गीत सार्वजनिक, इतिहास झल्कने स्तम्भ अनावरण, ‘निर्मल स्मारिका’ विमोचन, जिल्लास्तरीय शिक्षक नृत्य प्रतियोगिता, नगरस्तरीय विद्यार्थी हाजिरजवाफ तथा नृत्य प्रतियोगिता, पालिकास्तरीय पुरुष भलिबल, बृहत् रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिएको प्रधानाध्यापक विडारीले जानकारी दिए ।
यसैगरी, विद्यालयमा योगदान पुर्याउने पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
स्वर्ण महोत्सवको उद्घाटन पुस ८ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए ।









प्रतिक्रिया