२५ जेष्ठ २०८३, सोमबार

चन्द्रौटा महोत्सवको तयारी पूरा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । ‘दशौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गर्दै भोलि पुस १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा महोत्सव सुरु हुने जानकारी दिएको हो ।

जिल्लाकै ठूला र चर्चित मेलामध्ये एक मानिने चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकलाई नयाँ स्वाद र फरक अनुभव दिने तयारी गरिएको आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचारप्रसारमा सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्ने बताए । उनले पछिल्ला वर्षमा महोत्सवहरू व्यापारमुखी बन्दै गएको उल्लेख गर्दै स्थानीय उत्पादन र प्रतिभालाई प्राथमिकता दिन जरुरी रहेको धारणा राखे । प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईस्वरी पाण्डेले विगतमा चन्द्रौटाले भोगेका घटना र द्वन्द्वको स्मरण गर्दै यस्ता महोत्सवले क्षेत्रलाई देशभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताए । महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन तथा जेष्ठ नागरिक सम्मानको कार्यक्रम राखिएको उनले जानकारी दिए ।

यस वर्ष महोत्सवमा मम्मी डान्स आइडल विशेष आकर्षणका रूपमा रहनेछ । साथै, लन्डन ब्रिज, जलपरी, आइफिल टावरजस्ता संरचनात्मक आकर्षण र चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुने आयोजकको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेद अलि मियाले महोत्सवले चन्द्रौटाबाट बाहिरिने पैसा यहीँ रोक्दै स्थानीय व्यापार चलायमान बनाउने बताए । इतिहासमा धेरै चुनौती झेलेको चन्द्रौटा अहिले शान्त क्षेत्रको रूपमा विकास हुँदै गएको उल्लेख गर्दै उनले आर्थिक मन्दीका बीच पनि यस्ता महोत्सवले बजार चलाउने दाबी गरे ।

पत्रकार सम्मेलनमा संघका पदाधिकारीसहित जिल्लाभरका सञ्चारकर्मीको उपस्थिति थियो । पत्रकारहरूले महोत्सवलाई रात्रिकालीनभन्दा साँझमै समापन गर्न, स्थललाई दीर्घकालीन रंगशालाको रूपमा विकास गर्न र सफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।