काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदान केन्द्र निर्धारण गरिएको छ । आज निर्वाचन आयोगले मतदानस्थल र केन्द्र निर्धारण गरेको हो ।
देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । ती स्थलमा कुल २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
“यो निर्वाचनमा वि. सं. २०७९ को कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको व्यहोरा समेत जानकारी गराइन्छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शनिबारै आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
“प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश भएका छन्,” विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया