१२ कार्तिक २०८३, बिहिबार

करोडौंको लगानी, छैन शुद्ध खानेपानी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । आजको आधुनिक युगमा विकासका नाममा सडक, भवन र ठूला आयोजनामा करोडौंको लगानी भइरहेको छ । तर यति धेरै खर्च हुँदाहुँदै पनि आम नागरिकका लागि सबैभन्दा आधारभूत आवश्यक ‘शुद्ध पिउने पानी’ अझै सहज रूपमा उपलब्ध छैन भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

हो, उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा राज्यले करोडौंको लगानी गरेर खानेपानी निर्माण गरेको भए पनि आयोजनाले शुद्ध पानी उपलब्ध गराउन नसक्दा उपभोक्ताले आयोजनाको पिउने पानी प्रयोग गर्न पाएका छैनन् । साविकको हडिया गाविस वडा नम्बर ५ र ६ का उपभोक्ताको लागि भनेर करोडौंको लगानीमा मूलखोला खानेपानी तथा सरसफाई आयोजनामार्फत झन्डै ३ सय उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउने गरी स्थानीय मुसहर्नियाँ (मूलखोला) खोलाको सिरान चुरेको फेदीबाट समर्सियल बोर्डिङद्वारा करिब एक लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरी ट्यांकीमार्फत उपभोक्ताको लागि पानी वितरण गरिएको भए पनि पानी शुद्ध नहुँदा स्थानीयले प्रयोग गरेका छैनन् ।

पछिल्लो समय शहरदेखि गाउँसम्म धेरै मानिस दूषित पानी पिउन बाध्य छन्, जसले उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको छ । शुद्ध पिउने पानीको अभावले अहिले पनि धेरै ठाउँहरुमा झाडापखाला, टाइफाइडजस्ता रोग फैलिने गरेको पाइन्छ । तर राज्यले करोडौं लगानी गरेको खानेपानी आयोजना यसरी लथालिङ्ग हुँदा समेत राज्यको ध्यान पुगेको छैन ।

मुलाखोला खानेपानी तथा सरसफाई आयोजना तत्कालीन हडिया गाविस हुँदै गर्दा २०७३ सालमै डीपीआर तयार गरी निर्माण गरिएको आयोजना हो । तत्कालीन हडिया गाविसको वडा नम्बर ५ र ६ का करिब ३ सय घरधुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजना सुरु गरिएको हो तर यो आयोजनाले अहिले उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन नसक्दा ३०/३५ घरधुरीले मात्र धारा जडान गरेको आयोजनाका अध्यक्ष भुपाल कार्कीले जानकारी दिए । ३०/३५ घरमा धारा जडान गरेका उपभोक्ताले समेत पानी गाईबस्तु र फलफूलमा लगाउनका लागि मात्र प्रयोग गर्ने गरेका छन् ।

आयोजनामा काम गरेका तत्कालीन खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खोटाङका डिभिजन इन्जिनियर सुमन भट्टराईले खानेपानी आयोजनामा तत्काल प्रेसरफिल्टर जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । इन्जिनियर भट्टराईका अनुसार प्रेसर फिल्टर जडानका लागि करिब ४० लाख लागत लाग्नेछ ।

आयोजनाले झन्डै ३ सय उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउने गरी आयोजना सुरु गरेको भए पनि राज्यले करोडौं लगानी गरेको आयोजना अहिले प्रयोगविहीन भएको छ । उता प्रयोगविहीन जस्तै अवस्थामा रहेको मुलाखोला खानेपानी तथा सरसफाई आयोजनामा अहिले ३०/३५ उपभोक्ताले धारा जडान गरेका छन् । तर उनीहरुले १० हजार लिटर बराबरको न्युनतम प्रतिमहिना शुल्क २ सय रुपैयाँ समितिलाई बुझाउदै आएका छन् । उनीहरुले नत शुद्ध पानी प्रयोग गर्न पाएका छन् नत न्युनतम शुल्कमा कुनै सहजता पाएका छन् । आयोजनाको पानीमा शतप्रतिशत आइरन पाइएको छ भने कहिलेकाहीँ लेदो पानी आउने गरेको स्थानीय उपभोक्ता सुमन खड्काको भनाइ छ ।

उता, चौदण्डीगढी नगरपालिका वडा नम्बर १० मा रहेको हडिया खानेपानी उपभोक्ता समितिको कथा पनि खासै फरक छैन । २०७३ सालदेखि सञ्चालनमा आएको हडिया खानेपानी उपभोक्ता समितिले तत्कालीन हडिया गाविसको वडा नम्बर ५, ६ र ७ का हजारौं उपभोक्ताका लागि शुद्ध पिउने पानी उपलब्ध गराउने लक्षसहित निर्माण गरिएको आयोजना हो । तर आयोजना सञ्चालनमा आउँदाकै अवस्थामा २०७३ सालमा गठित सञ्चालक समिति अहिलेसम्म हेरफेर भएको छैन । नत समितिले आयव्यय सार्वजनिक गर्ने गरेको छ नत आयोजनाको रेखदेख नै गरेको छ । तत्कालीन समयमा गठित समिति निष्कृय जस्तै छ । एक जना कर्मचारीले पूरै आयोजनाको हेरचाह गर्ने गरेका छन् । यद्यपि उनको पारिश्रमिक समेत न्युन हुँदा उनले काम नगर्ने मनस्थिति बनाएका छन् । यसले आयोजनालाई अफ्ठ्यारो पर्ने देखिन्छ ।

दुवै आयोजना सञ्चालन समितिका अध्यक्षले भने राज्यले कुनै पनि लगानी नगर्दा आयोजना सञ्चालनमा कठिनाई भएको बताउँछन । दुवै आयोजनाका अध्यक्षको एक स्वर छ । राज्यले खानेपानीको ट्यांकी निर्माण गरेर केही पाइप दिँदैमा आयोजना सफल नहुने भन्दै उनीहरुले बेलाबेला त्यहाँका समस्या र समस्या समाधानका लागि राज्यले रकम विनियोजन गर्नुपर्ने माग राखे । राज्यले यसरी करोडौं रकम खर्च गरेर सञ्चालनमा ल्याएका आयोजनाहरु समय समयमा हेरचाह र रेखदेख नहुँदा राज्यको लगानी बालुवामा पानी हुन थालेको छ । वास्तविक विकास भनेको महँगा संरचना मात्र होइन, नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्नु पनि हो । त्यसैले करोडौंको लगानी खोज्नुभन्दा पनि सही योजना, जनसहभागिता र सचेतनाबाट शुद्ध पिउने पानीको व्यवस्था गर्नु आजको आवश्यकता हो ।