काठमाडौं । विविध कला र वास्तुकलाले भरिपूर्ण हनुमानढोका दरबार क्षेत्र मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध रहेको छ । लिच्छविकालमा ‘दक्षिणकोलिय ग्राम’का रूपमा परिचित यो स्थल मध्यकालको उत्तरार्धमा मल्ल राजाहरूको शासनकालमा महत्वपूर्ण राजनीतिक केन्द्रका रूपमा स्थापित भएको थियो ।
काठमाडौं उपत्यकाको विश्वसम्पदा क्षेत्रको अभिन्न अङ्गका रूपमा रहेको हनुमानढोका दरबार सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्वका कारण सन् १९७९ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो ।
विसं २०३२ सालदेखि हनुमानढोका दरबार सङ्ग्रहालयका रूपमा सञ्चालन हुँदै आएको यस स्थललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाल सरकारले विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार मिति २०६७ पुष १२ गते हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति गठन गरेको थियो ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णयअनुसार जारी गठन आदेश बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहने गरी नौ सदस्यीय समितिको व्यवस्था गरिएको छ । समितिलाई सङ्ग्रहालय सञ्चालन, संरक्षण, मर्मतसम्भार, सुरक्षा, पर्यटन प्रवर्द्धन तथा समग्र व्यवस्थापनसम्बन्धी काम, कर्तव्य र अधिकार तोकिएको छ ।
समिति गठनपश्चात् सङ्ग्रहालयको प्रवर्द्धनसँगै दरबार क्षेत्रभित्र रहेका मूर्त सम्पदाहरूको जीर्णोद्धार तथा पुनर्स्थापना, अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र हनुमानढोका दरबारसँग सम्बन्धित सम्पदाहरूको अभिलेखीकरण कार्य हुँदै आएको छ । विश्वव्यापी रूपमा बोर्ड अफ ट्रष्टीमार्फत सङ्ग्रहालय सञ्चालन प्रभावकारी मानिँदै आएको सन्दर्भमा हनुमानढोका दरबार सङ्ग्रहालय पनि विकास समिति मार्फत सञ्चालन हुँदै आएको हो ।
सङ्ग्रहालय वर्षमा १३ दिन बाहेक सर्वसाधारणका लागि खुला रहँदै आएको छ । बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सेवा प्रवाह गर्दै आएको सङ्ग्रहालय विसं २०७२ सालको भूकम्पका कारण गम्भीर क्षतिग्रस्त भएको थियो । भूकम्पपछि ऐतिहासिक महत्वका केही पूर्ववत् सङ्ग्रहालय कक्षहरू हालसम्म बन्द अवस्थामा छन् ।
हाल अस्थायी कक्षहरू, नौतले दरबार र विभिन्न चोकहरू मात्र सर्वसाधारणका लागि खुला गरिएको छ । भूकम्पबाट क्षति भएका ऐतिहासिक भवनहरूको मौलिकता कायम राख्दै संरक्षण र पुनर्निर्माण कार्य सम्पन्न भइसकेको सन्दर्भमा अब सङ्ग्रहालयलाई पुनर्संरचना गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउनु प्रमुख चुनौतीका साथै महत्वपूर्ण अवसरका रूपमा रहेको विकास समितिले जनाएको छ ।









प्रतिक्रिया